रुकुमपूर्वको भूमे गाउँपालिका–४, काँडास्थित स्वास्थ्य चौकीमा स्तनपान सप्ताह २०२५ (अगस्ट १ देखि ७) को अवसरमा एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय, रुकुमपूर्वको आयोजना र भूमे गाउँपालिकाको समन्वयमा मिक नेपाल/सम्बोधन परियोजनाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा गर्भवती र सुत्केरी महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक यादव प्रसाद शर्मा र काँडा स्वास्थ्य चौकी प्रमुख चन्द्रशेखर परियारले स्तनपानसम्बन्धी विविध पक्षहरूमा जानकारी गराए। उनीहरूले स्तनपानका फाइदा, स्तनपान गराउने सही तरिका र आसनबारे मौखिक तथा प्रयोगात्मक ढंगमा प्रशिक्षण दिएका थिए।
मिक नेपाल/सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्माका अनुसार कार्यक्रम सञ्चालनअघि सहभागीहरूको अपेक्षा संकलन गरिएको थियो भने समापनमा सिकाइको समिक्षा पनि गरिएको थियो। शर्माले स्तनपानजस्ता विषयमा समुदायमा चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष स्यामप्रसाद बुढाले स्थलगत रूपमा सहभागी हुँदै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा परियोजना संयोजक राजेश राना, सामाजिक परिचालक, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति रहेको थियो।














प्रतिक्रिया