पर्सा १६ साउन — पर्सामा सशस्त्र प्रहरी बलले भन्सार छली गरी भारतबाट ल्याइँदै गरेको तीन लाखभन्दा बढी मूल्यको अवैध सामानसहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेको कपडा, किराना सामान तथा दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामान तथा सवारीसाधनको कूल मूल्य रु ३ लाख ८ हजार १ सय बराबर रहेको जनाइएको छ।
बरामद सामग्रीहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए।
यस्तै, सशस्त्र प्रहरी बल बीओपी सिर्सियाबाट खटिएको अर्को टोलीले पनि भारतबाट ल्याइँदै गरेको करिब रु ६४ हजार बराबरको कपडा बरामद गरेको छ।
यसैगरी, बीओपी ठोरीबाट खटिएको टोलीले विभिन्न मितिहरूमा नियन्त्रणमा लिएका करिब रु २६ हजार २ सय बराबरका विविध सामानहरू आजै भन्सार कार्यालयमा बुझाइएको जानकारी प्राप्त भएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पार्दै अवैध कारोबार नियन्त्रण गर्न सक्रियता बढाएको जनाएको छ।



































प्रतिक्रिया