home

देशभर भारी वर्षा, केही क्षेत्रमा बाढी र भू–भासको उच्च जोखिम



काठमाडौं, साउन ४ । जल तथा मौसम विज्ञान विभागले आइतबारका लागि देशका अधिकांश प्रदेशहरूमा भारी वर्षासहितको मौसम पूर्वानुमान गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार देशभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।

सबैभन्दा बढी सतर्कता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अपनाउनु पर्ने विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा बाढी, पहिरो तथा भू–भासको जोखिम अत्यधिक रहेको विभागले जनाएको छ। ती क्षेत्रमा पर्ने नदी, खोल्सालगायत भू–भागमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशहरूमा दिनको समयमा धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्नेछ। रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा कायम रहनेछ। मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले त्यति धेरै जोखिम भने नभएको विभागको भनाई रहेको छ।

पछिल्लो केही दिनदेखि भइरहेका लगातार वर्षाले पहाडी र तराई क्षेत्रका धेरै भागहरूमा सडक अवरुद्ध, बाढीको खतरा र कृषिमा क्षति पुगेको पाइएको छ। मौसमविद्हरूले आवश्यक यात्रा, नदी नजिकको आवतजावत तथा डुबान क्षेत्रमा सतर्कता अपनाउन आम जनतालाई आग्रह गरेका छन्।

प्रकाशित : ५ श्रावण २०८२, आइतबार, ,