रुकुमपूर्व, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै रुकुमपूर्वमा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। अभियान साउन १३ गते मङ्गलबार बिहान ११ बजे रुकुमकोटस्थित नेपाल बैंक अगाडि सुरु हुने आयोजकहरूले जनाएका छन्।
दोस्रो चरणको कार्यक्रम साउन १४ गते बुधबार कमलदह परिसरमा आयोजना हुने छ।
अभियानको नेतृत्व रास्वपा रुकुम पश्चिमका सभापति मनबहादुर शाहीले गर्दै छन्। रुकुमपूर्वका स्वतन्त्र पार्टीप्रति आस्था राख्ने कार्यकर्ता, समर्थक, बुद्धिजीवी र युवाहरूको सहकार्यमा अभियान सञ्चालन गरिने जनाइएको छ।
शाहीका अनुसार, पार्टी नेतृत्वको अराजनीतिक व्यवहार, स्वेच्छाचारिता र संस्थागत कमजोरीप्रति असहमति जनाउँदै शान्तिपूर्ण रूपमा अभियान अघि बढाइएको हो।
“पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक आचरण हराउँदै गएकाले यस्तो अभियान आवश्यक भएको हो,” शाहीले स्पष्ट पारे।
कमलदहमा हुने कार्यक्रममा हस्ताक्षर संकलनका साथै विचार आदान–प्रदान, समसामयिक छलफल तथा पार्टी नेतृत्वप्रति जनमत अभिव्यक्त गरिनेछ।
शाहीले यो अभियान कुनै व्यक्तिगत आक्रोश नभई पार्टी नेतृत्वलाई जिम्मेवार र उत्तरदायी बनाउने जनचेतनामूलक पहल भएको उल्लेख गरे।
कार्यक्रममा स्वतन्त्र सोच राख्ने सम्पूर्ण नागरिक, युवाहरू तथा पार्टीप्रेमीहरूलाई सहभागी भई समर्थन जनाउन आयोजकहरूले आग्रह गरेका छन्।





































प्रतिक्रिया