रुकुमकोट । नेकपा (एमाले) रुकुमपूर्वले लुम्बिनी प्रदेशसभा सदस्य तथा पार्टी जिल्ला समिति सचिवालय सदस्य सरिता पुन मगरको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
भाद्र १४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ३२ वर्षको अल्पआयुमा पुन मगरको दुःखद निधन भएको थियो । अन्त्येष्टि सम्पन्न भइसकेपछि सोमबार पार्टी कार्यालय, रुकुमकोटमा आयोजित शोकसभामा जिल्लाभरका पार्टी नेताहरूको उपस्थितिमा स्व. पुन मगर र उहाँका पिता सतमान पुनज्यूको योगदानको स्मरण गरिएको थियो ।
शोकसभामा सहभागीहरूले स्व. पुन मगरको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य चुडामणि गौतम, लुम्बिनी प्रदेश सल्लाहकार परिषद सदस्य बलबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष देबिलाल गिरी, नेपाल बुद्धिजीवी परिषद रुकुमपूर्व अध्यक्ष ऋषिराम शर्मा लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
शोकसभाको अध्यक्षता नेकपा (एमाले) जिल्ला समिति रुकुमपूर्वका सचिव तेजेन्द्र बुढाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सचिव हरिहर पौडेलले गर्नुभएको थियो ।








प्रतिक्रिया