रुकुम पूर्वको भूमे गाउँपालिका–५, सेराबाङमा जङ्गली च्याउ खाँदा एउटै घरका चार जना बिरामी भएका छन्, जसमध्ये एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार साउन २ गते ३५ वर्षीया रामकुमारी सुनार र उनका छोराछोरीहरू – ९ वर्षीया आयुषा बिक, ६ वर्षीया भाग्यरेखा बिक, र ३ वर्षीय योजन बिक – ले जङ्गली च्याउ खाएपछि सबैमा स्वास्थ्य समस्या देखिएको थियो।
च्याउ खाएपछि उनीहरूलाई बान्ता हुने, पेट दुख्ने र अत्यधिक कमजोरी हुने लक्षण देखिए पनि सुरुमा घरमै सामान्य घरेलु उपचार गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनीहरूलाई साउन ५ गते जिल्ला अस्पताल रुकुम पूर्वमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि साउन ६ गते रामकुमारी सुनार, भाग्यरेखा बिक, र योजन बिकलाई लु १ झ ६०६ नम्बरको एम्बुलेन्समार्फत सल्यान अस्पताल पठाइएको थियो। तर उपचारको क्रममा ३ वर्षीय योजन बिकको दिउँसो ३ बजे मृत्यु भएको पुष्टि गरिएको छ।
रामकुमारी सुनार र उनकी छोरी भाग्यरेखा बिकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि उनीहरूलाई दाङ रेफर गरिएको छ। अर्की छोरी आयुषा बिकको अवस्था मध्यम रहेको र उनलाई आफन्तहरूले जिल्ला अस्पताल रुकुम पश्चिमको सल्लेमा लगेको जनाइएको छ।
उक्त घटनाको विषयमा स्थानीय प्रहरी र स्वास्थ्य कार्यालयले आवश्यक अनुसन्धान तथा स्वास्थ्य निगरानीको कार्य गरिरहेको जनाएको छ।















प्रतिक्रिया