home

वनका च्याउ र अरिङ्गाल बने ज्यानमारा! – प्रहरीको चेतावनी



रुकुमपूर्व — जङ्गलमा उमेका च्याउ र डाडाँ-काँडामा बाँचेका अरिङ्गालले ज्यान लिने घटना बढेपछि जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्रहरीले जारी गरेको सूचनामा भनिएको छ— “जङ्गलमा देखिने च्याउ सबै खाने योग्य हुँदैनन्। कतिपय विषालु च्याउको सेवनले गम्भीर बिरामी पार्ने वा मृत्यु निम्त्याउने खतरा हुन्छ। त्यसैले पहिचान नगरी च्याउ नखाऔँ।” पछिल्लो केही हप्तादेखि विषालु च्याउ खाएर अस्पताल भर्ना हुने वा ज्यान गुमाउने घटनाहरूले प्रहरीलाई गम्भीर बनाएको छ।

उता, अरिङ्गालसँगको सानो झोँक पनि ठूलो दुर्घटनामा परिणत हुन सक्ने भन्दै प्रहरीले चेतावनी दिएको छ। गुँडमा ढुंगा हान्ने, जिस्क्याउने वा नजिक जानेजस्ता कार्यले उनीहरू आक्रोशित भई आक्रमण गर्नसक्ने भन्दै यस्तो लापरवाही नगर्न अनुरोध गरिएको छ।

कुनै अप्रिय घटना भएमा तत्काल नेपाल प्रहरी (१००), ट्राफिक प्रहरी (१०३), बालबालिका खोजतलास केन्द्र (१०४), वा प्रहरी गुनासो सेवा (१११३) मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

प्रकाशित : ८ श्रावण २०८२, बुधबार, ,