रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका – ६, खोपिचार साङग्रे खोला पुल नजिक सडक चिप्लो भएका कारण एकपछि अर्को गर्दै तीनवटा सवारी दुर्घटना भएका छन् ।
प्राप्त जानकारीअनुसार साँझ करिब ८ः०० बजे डोल्पाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००१ ख ७४७७ नम्बरको बस सडक चिप्लो भएका कारण सडक किनारमा फसेको रा १ ख २९९३ नम्बरको टिपर को पछिल्लो भागमा ठोक्किँदा सामान्य दुर्घटना भएको हो । बस चितवन, जुरपानी – ३ का ३६ वर्षीय केशव कार्की ले चलाएका थिए । यस दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ ।
यसअघि करिब ३ः५५ बजे सोही स्थानमा रुकुमकोटबाट खलंगातर्फ जाँदै गरेको लु ३ च ७०३६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको बस एकआपसमा ठोक्किँदा अर्को सामान्य दुर्घटना भएको थियो । पिकअप भ्यान अर्जुन चलाउने ले चलाएका थिए भने बस नविन के.सी. ले चलाएका थिए । यस दुर्घटनामा पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै, दाङबाट तकसेरातर्फ सिमेन्ट बोकेर आउँदै गरेको रा १ ख २९९३ नम्बरको टिपर समेत सडक चिप्लो भएका कारण अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा सवारी दुर्घटना भएको थियो । टिपर चालक गोविन्द बुढाथोकी रहेका छन् । यस घटनामा पनि कुनै मानवीय क्षति भएको छैन ।
तीनै दुर्घटनामा सवारी साधनमा आंशिक क्षति पुगेको छ भने अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया