नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज शुक्रबार र भोलि शनिबार देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम रहने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा पूर्वका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना औंल्याइएको छ ।
प्राधिकरणले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ । हालैका दिनमा हावाहुरीकै कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला घरका ढोका-झ्याल सुरक्षित राख्न, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन रोकेर सुरक्षित स्थानमा बस्न र भीडभाडमा नजान सुझाव दिइएको छ । साथै, कमजोर संरचना, रुख तथा बिजुलीका खम्बा नजिक नबस्न तथा विद्युत् उपकरण प्रयोगमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अवलोकन गर्न र आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।









प्रतिक्रिया