रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ सूर्दीका स्थानीयवासी पछिल्ला वर्षमा मौरी पालनमा क्रमशः सक्रिय हुँदै गएका छन् । पुर्खौंदेखि मौरी बसाल्ने परम्परा रहँदै आएको यो ठाउँ अहिले व्यवसायिक मौरी पालनतर्फ उन्मुख बन्दै गएको स्थानीयहरुले बताएका छन् ।
सूर्दीका केही स्थानलाई स्थानीयवासीले “मौरी बसाल्ने ठाउँ” भनेर चिनाउँछन् । यी स्थानहरूमा भाद्र महिनादेखि मौरीको चहलपहल बढ्ने र वर्षभर मौरीका खाली र मौरी भएको घार देख्न सकिने बताइन्छ । मौरीको चहलपहलका कारण यहाँका स्थानलाई “मौरी पकेट क्षेत्र” भन्दा पनि फरक नपर्ने स्थानीयको धारणा छ ।
स्थानीय कृषक सुनिल रामजालीका अनुसार मौरी बसाल्ने चलन पुर्खा देखिनै रहँदै आएको हो । उनले भने, “मौरी बसाल्ने ठाउँ वरिपरिका वन र खेतमा मौरीको सक्रियता देखिन्छ । सम्भवतः यही कारण पुर्खाले पनि यस स्थानलाई मौरीकै नाममा चिनाएका हुन् ।”
रामजालीका अनुसार सूर्दीका धेरै घरमा मौरीका घार छन् । “यहाँ घारहरू प्रायः छिमेकी टोलहरूबाट पनि ल्याइन्छ । सिजनमा बाहिर पनि मौरी लिने चलन छ । स्वास्थ्यका दृष्टिले पनि मौरी पालन निकै फाइदाजनक मानिन्छ,” उनले भने ।
त्यस्तै अर्का कृषक भागीराम कामीले मौरी बसाल्ने ठाउँका वरिपरिका क्षेत्रमा पनि आफूले मौरीका घार राखेको बताए । उनले भने, “मेरो आफ्नै धेरै ठाउँमा घार छन् । मौरीको मह अर्गानिक र स्वास्थ्यका लागि उपयोगी भएकाले सबैले यस पेशामा लाग्नुपर्छ ।”
स्थानीय युवा सुरेश रामजालीले मौरी संकलनको प्रक्रिया कठिन भए पनि यसको परिणाम लाभदायक हुने बताए । “पहिले रुखबाट घार बनाइन्छ, त्यसलाई भेरीको महजस्ता सामग्रीले सफा गरेर मौरीको चहलपहल हुने ठाउँमा राखिन्छ। केही समयपछि त्यहीँ मौरी बस्ने गर्छ,” उनले अनुभव सुनाए ।
उनका अनुसार सिस्ने गाउँपालिकामा मौरी समूह दर्ता गर्ने पहल गरिएको भए पनि यस कार्य भरपर्दो हुन् नसक्ने हुँदा प्रक्रिया रोकिएको हो । “दर्ता नभएपनि हामी मौरी पालनलाई निरन्तरता दिइरहेका छौं,” उनले भने ।
स्थानीयहरूका अनुसार सूर्दी क्षेत्रमा मौरीको मह प्राकृतिक र अर्गानिक गुणयुक्त छ । यसले स्वास्थ्यका साथै स्थानीय आम्दानीको स्रोत पनि बन्दै जाने अपेक्षा गरिएको छ । अहिले गाउँका युवाहरू परम्परागत मौरी पालनलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजनामा छन् ।















प्रतिक्रिया