रुकुमपूर्व, – सिस्ने गाउँपालिकाले पशुपालन तथा कृषि व्यवसायमा निरन्तर क्रियाशील रहँदै आत्मनिर्भरता र स्थानीय रोजगारीमा योगदान पुर्याउँदै आउनुभएका चार जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ।
गाउँपालिकाले उनीहरूको योगदानको कदर गर्दै प्रत्येकलाई नगद रु १०, हजारसँगै सम्मानपत्र प्रदान गरेको हो। सम्मान कार्यक्रममार्फत कृषकहरूलाई प्रोत्साहन प्रदान गर्दै कृषि तथा पशुपालन पेसामा अझ व्यावसायिकता ल्याउने उद्देश्य राखिएको पालिकाले जनाएको छ।
सिस्ने बहुउद्देश्यीय कृषि तथा भैँसी पालन फर्मका कल्चु बुढा मल्ल, सोहन कुखुरा पशुपन्छी फर्मका राजकुमार कवर, रुकुमेली पशुपन्छी फर्मका ललिता थापा बुढा र न्यू खड्का बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मका बालराम खड्का सम्मानित भएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ।
सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले आगामी दिनमा कृषि तथा पशुपालन क्षेत्रलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय उद्यमशीलता अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ।



































प्रतिक्रिया