रुकुम पूर्वको सिस्ने गाउँपालिका – ६ छिप्रिदहमा रहेको विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण कार्यलाई लिएर स्थानीय स्तरमा विवाद चुलिएको छ । उद्योग वाणिज्य संघ रुकुम पूर्व तथा बजार क्षेत्रका व्यवसायीहरूले मन्दिर निर्माण कार्यलाई सकारात्मक रूपमा लिए पनि प्रस्तावित संरचनाको केही पक्षप्रति गम्भीर आपत्ति जनाएका छन् ।
स्थानीय व्यवसायीहरूको भनाइअनुसार मन्दिर वरिपरि चारैतिर सटरसहितका कोठा निर्माण गर्ने योजना अनुपयुक्त रहेको छ । मन्दिरको नाममा जग्गा पास नभएको, यसअघि सडकको मापडण्ड मिचिएको भन्दै स्थानीय सरकारद्वारा ‘रुकुमकोट महिला बहुदलीय सहकारी संस्था लिमिटेड’को भवन भत्काइए पनि पुनः सडकको मापदण्ड विपरीत संरचना बनाउन लागिएको जस्ता विषयहरू पनि उठाइएको छ । यस्ता संवेदनशील विषयमा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकाय मौन बसेको भन्दै बजारवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूको निष्कर्षमा मन्दिरलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मात्रै विकास गर्नु उपयुक्त हुने र व्यावसायिक संरचना (सटरहरू) समावेश गर्नुले मूल उद्देश्यबाट विचलन ल्याउने तर्क गरिएको छ । साथै, यस विषयमा आधिकारिक छलफल आवश्यक रहेको र मन्दिर व्यवस्थापन समितिले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि उठेको छ ।
यता मन्दिर पुनर्निर्माण पक्षले भने परियोजनाको आध्यात्मिक, सांस्कृतिक र संरचनागत पक्षलाई जोड दिँदै आफ्नो अवधारणा प्रस्तुत गरेको छ । मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र कम्पाउण्ड क्षेत्रमा निर्माण गरिने सटरहरूमध्ये ६ वटा सटर निर्माणका लागि लुम्बिनी प्रदेश सांसद कोषबाट बोलपत्र आह्वान भइसकेको जानकारी दिइएको छ । यस अभियानलाई पूर्णता दिन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको समितिको आग्रह छ ।
मन्दिरको संरचनागत विशेषता
प्रस्तावित मन्दिर संरचना नवदुर्गाको अवधारणामा आधारित रहेको छ । मन्दिरमा ९ वटा दिशा/भुजामा ९ देवी स्थापना गरिने र एउटा मुख्य प्रवेशद्वारसहित १० भुजात्मक संरचना रहने योजना छ । केन्द्रमा नवदुर्गा यन्त्र स्थापना गरिनेछ, जसलाई देवी शक्तिको प्रतीकात्मक केन्द्रका रूपमा लिइएको छ ।
संरचनामा धातुको प्रयोगलाई प्राथमिकता दिइएको छ, जसलाई शास्त्रीय रूपमा देवी–देवताका लागि उपयुक्त मानिन्छ । धातु प्रयोग गर्न नसकिने स्थानमा सिङ्गमरमर (मार्वल) प्रयोग गरिने योजना छ । वास्तुशास्त्र अनुसार बहुभुज शिखर शैली र प्यागोडा शैलीको मिश्रणमा मन्दिर निर्माण गरिनेछ, जसले धार्मिक तथा सांस्कृतिक सौन्दर्य झल्काउने अपेक्षा गरिएको छ ।
यसका साथै नवग्रह, नौ उर्जा, नौ चक्र, नव रत्न र दश दिशाको अवधारणालाई समेटेर आध्यात्मिक ऊर्जा प्रवाह हुने गरी डिजाइन तयार गरिएको दाबी गरिएको छ ।
धातु संरचनाका फाइदा र चुनौती
मन्दिर निर्माणमा धातुको प्रयोग दीर्घकालीन रूपमा टिकाउ, पुनः प्रयोगयोग्य र भूकम्प प्रतिरोधी हुने बताइएको छ । समयसँगै यसको मूल्य बढ्ने र आवश्यकता अनुसार संरचनामा थप परिमार्जन गर्न सकिने विशेषता पनि औंल्याइएको छ । तर, धातु संरचना अन्य सामग्रीभन्दा महँगो हुने, तापक्रमको प्रभाव बढी हुने र हावाहुरीमा ध्वनि उत्पन्न हुनेजस्ता चुनौतीहरू पनि स्वीकार गरिएको छ ।
निष्कर्ष
विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण योजना भए पनि यसको स्वरूप र प्रयोगको विषयमा स्थानीय बजारवासीहरुमा मतभेद देखिएको छ। विवाद समाधानका लागि सरोकारवाला सबै पक्षबीच खुला संवाद, पारदर्शिता र सहमति आवश्यक देखिन्छ ।।








प्रतिक्रिया