रुकुम पूर्व, सिस्ने गाउँपालिका – ४ नयाँ वर्षको अवसरमा जहाँ धेरैजसो मानिस उत्सव र मनोरञ्जनमा केन्द्रित रहे, त्यही बेला भिङ दलित बस्तीमा भने सामाजिक रूपान्तरण तर्फको सशक्त पहल सुरु गरिएको छ ।
दलित अगुवाहरूको सक्रियतामा आयोजित छलफलमा दलित अधिकारकर्मी तथा नेकपा नेता उपेन्द्रलाल कामीको विशेष उपस्थिति रहेको थियो । छलफलले वडाभित्र ६ वटा बृहत्त परिवार समूह गठन गर्ने निर्णय गरेको छ ।
निर्णयअनुसार भिङ, अमलाचौर, नमुना बस्ती, पुरानो ढाँका, बारिकेचौर र दादिङ टोलमा क्रमशः भिजन, एकता, नमुना, योजना, चेतना र परिवर्तन नामका समूह गठन गरिएका छन् ।
कार्यक्रममा बोल्दै कामीले “जब हामी जुट्छौं, तब माथि उठ्छौं” भन्ने नारासहित दलित समुदायमा जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सहभागी रुद्र बहादुर बि.क, कर्मसिंह बहादुर बि.क, गण बहादुर बि.क लगायतले अब समुदाय आफैं संगठित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
छलफलपछि सहभागीहरूले करिब एक घण्टा श्रमदान गर्दै भिङ निवासी रमेश बि.कको गाई भैँसी गोठको छाप्रो निर्माण गरेका छन् ।
नयाँ वर्षको सुरुवातमै गरिएको यस पहलले दलित समुदायमा एकता, सहकार्य र आत्मनिर्भरता तर्फ सकारात्मक सन्देश दिएको स्थानीयवासीले बताएका छन् ।














प्रतिक्रिया