रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा दुई विद्यार्थी संगठनले संयुक्त ज्ञापनपत्र प्रेस गरेका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेकपा (एमाले) निकट अनेरास्ववियुका प्रतिनिधिहरूले संयुक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी सीता परियारलाई बुझाएका हुन् ।
अखिल क्रान्तिकारीका प्रदेश सचिव जयकुमार श्रेष्ठ र जिल्ला अध्यक्ष चन्द्र रसाइली तथा अनेरास्ववियुका प्रदेश सदस्य शरद मंगल ओलीको नेतृत्वमा गएको विद्यार्थी टोलीले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
ज्ञापनपत्रमा विश्वव्यापी र नैतिक मूल्यका आधारमा शिक्षालाई राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्ने, अभिभावकविहीन बालबालिकाको शिक्षा, दीक्षा र भरणपोषणको पूर्ण दायित्व राज्यले लिनुपर्ने माग गरिएको छ । साथै, व्यवसायिक, नैतिक, प्रतिस्पर्धी र राष्ट्रिय हितप्रति समर्पित जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीको व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइलीले ज्ञापनपत्र बुझाउने क्रममा भने, “पुरानो शिक्षा ऐनका कारण आज देशका युवा पंक्ति देश छोड्न बाध्य भएका छन् । शिक्षा ऐन र शिक्षा विधेयक नयाँ पुस्ताको आवश्यकताअनुसार परिमार्जन भई पारित हुनुपर्छ ।” उनले यस ज्ञापनपत्र मार्फत नेपाल सरकारलाई शिक्षा विधेयकलाई आधुनिक र प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
त्यस्तै, अनेरास्ववियुका लुम्बिनी प्रदेश सदस्य शरद मंगल ओलीले भने, “ आफ्नो पार्टी नेतृत्वको गठबन्धन सरकार भएतापनि विद्यार्थीको अधिकार र हितका लागि ज्ञापनपत्र बुझाइएको हो ।”
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले विद्यार्थी संगठनहरूले उठाएका माग र धारणा उचित भएको प्रतिक्रिया जनाए । उनले भने, “यस पत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण हुनेछ भन्ने विश्वास लिएको छु । हामीले ज्ञापनपत्र माथिल्लो तहमा पठाउनेछौं, कार्यान्वयन गर्ने जिम्मा नेपाल सरकारकै हो ।”














प्रतिक्रिया