रुकुम पूर्व अस्पतालमा दन्त रोग विशेषज्ञ डाक्टर र लेखापाललाई एकैसाथ स्वागत तथा नियुक्त गरिएको छ। बिहीबार अस्पतालमा दन्त रोग विशेषज्ञ डा. त्रिपुरारी शुक्ला र लेखापाल अञ्जना खत्रीलाई औपचारिक रूपमा नियुक्त गरिएको हो।
अस्पतालको स्थापना भएयता पनि पहिलो पटक दन्त रोग विशेषज्ञ डाक्टरको आगमन भएको हो। विशेषज्ञ डाक्टरको उपलब्धतासँगै जिल्लाबासीले थप गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।
त्यस्तै, हालै मात्र लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी नाम निकाल्न सफल भएकी देशकै कान्छी लेखापाल अञ्जना खत्रीलाई पनि स्वागत गरिएको छ। बिहीबार आयोजित कार्यक्रमका अवसरमा दुवै जनालाई एकैसाथ स्वागत गरिएको जिल्ला अस्पताल रुकुम पूर्वका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण खरालले जानकारी दिनुभयो।
स्वागत कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाह, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खराल, स्वास्थ्य कार्यालय रुकुम पूर्वका निमित्त प्रमुख पुष्कल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विष्णुहरि आचार्य लगायतका स्वास्थ्यकर्मी तथा पत्रकारहरूको उपस्थिति थियो।
लेखापाल खत्रीले केही दिनअघि नै कार्यभार सम्हालिसक्नुभएको छ भने डा. शुक्लाले बिहीबारदेखि नियमित रूपमा दन्त सेवा सुरु गर्नुभएको हो। डा. खरालका अनुसार अस्पतालको प्रशासन शाखामा पनि चाँडै थप कर्मचारी आउने तयारी भइरहेको छ।
कार्यक्रममा वक्ताहरूले अस्पतालले क्रमशः सेवा, संरचना र कार्यशैलीलाई थप व्यवस्थित र भरपर्दो बनाउँदै लगेको उल्लेख गर्दै विगतका कमजोरीहरूलाई भुलेर सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।
यसअघिसम्म अस्पतालमा सामान्य रूपमा मात्र दन्त उपचार सेवा उपलब्ध हुँदै आएकोमा अब विशेषज्ञ डाक्टरबाट सेवा पाउन थालेपछि जिल्लावासी उत्साहित भएका छन्।














प्रतिक्रिया