दाङ, घोराही — संयुक्त उत्पीडित जातीय मोर्चा नेपालको आयोजनामा दाङको घोराहीमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न कार्यक्रममा दलित मुक्ति अभियान र दलित सेवा समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य हरिबहादुर पुनले मोर्चाको अवधारणापत्र प्रस्तुत गरेका थिए। उक्त अवधारणापत्रमा सहभागीहरूबाट समीक्षा, टिप्पणी र सुझाव प्रस्तुत गरिएको थियो। मोर्चाका केन्द्रीय सल्लाहकार शरुण बाँठा मगर, दलित मुक्ति अभियानका केन्द्रीय सदस्य केशव नेपाली, र दलित सेवा समाजका प्रतिनिधि मंगल परियार लगायतले समीक्षा प्रस्तुत गरेका थिए।
प्रशिक्षणका क्रममा वक्ताहरूले दलित तथा उत्पीडित समुदायका अधिकार, पहिचान र संगठन विस्तारका विषयमा समसामयिक रणनीति तथा कार्यक्रमबारे प्रशिक्षणमूलक मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको निष्कर्षस्वरूप आगामी भाद्र महिनाभित्र लुम्बिनी प्रदेशस्तरीय संयुक्त भेला आयोजना गर्ने निर्णय गरिएको छ। उक्त भेलाबाट ठोस कार्ययोजना तयार गरी अभियानहरूलाई थप प्रभावकारी ढंगले अघि बढाइने सहमति भएको आयोजकले जनाएको छ।
मोर्चाका केन्द्रीय तदर्थ समिति संयोजक उपेन्द्रलाल कामीले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अभियानलाई थप सशक्त र संगठित ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रम मोर्चाका केन्द्रीय तदर्थ समिति सदस्य मोहन रसाइलीको अध्यक्षतामा सुरु भएको थियो। भने सञ्चालन केन्द्रीय सदस्य हरिबहादुर पुनले गरेका थिए।



































प्रतिक्रिया