काठमाडौं, साउन १६ — नेपाली समाजको मौन पीडा, सामाजिक विभाजन र पारिवारिक विछोडको यथार्थ चित्रण गर्ने बहुप्रतीक्षित चलचित्र ‘सिटामोल’ यही साउन २३ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ।
तुलसी एचडीएच फिल्म्स प्रा.लि.को ब्यानरमा रुन्तारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरिएको यो चलचित्र सामाजिक विभाजन, मौन पीडा र पारिवारिक विछोडजस्ता गहिरा विषयवस्तुमा आधारित छ।
सामाजिक यथार्थको संवेदनशील चित्रण प्रस्तुत गर्ने ‘सिटामोल’ नेपाली समाजमा गहिरिएर बसेका समस्याहरूको कलात्मक प्रस्तुति हो। चलचित्रले आवाजविहीनहरूको पीडा, वर्गीय अन्याय र सामाजिक उपेक्षालाई कथानकको मूल केन्द्र बनाएको छ। गहिरा संवाद र सशक्त अभिनयमार्फत दर्शकको मन छोने कथा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरू — सौगात मल्ल, बेनीशा हमाल, श्रीकृष्ण निरौला र मुटुफती — को सशक्त अभिनय देख्न सकिन्छ।
चलचित्रका निर्माता राजबहादुर सानेका अनुसार ‘सिटामोल’ केवल एउटा चलचित्र नभई समाजका अनगिन्ती मौन आवाजहरूको प्रतिनिधि कथा हो। विशेषतः कर्णाली क्षेत्रको यथार्थ, पीडा र पिरतीको कच्चा कथन चलचित्रको मूल आधार भएको उहाँले बताउनुभयो।
यसैबीच, चलचित्रको भावनात्मक गीत ‘मुटु भित्र खिल छ हजुर’ युट्युबमार्फत सार्वजनिक भइसकेको छ। बाबुल गिरीको स्वर र संगीतमा तयार भएको यस गीतमा सौगात मल्ल र बेनीशा हमालको अभिनय देख्न सकिन्छ। गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्दै राम्रो प्रतिक्रिया पाइरहेको छ।
‘सिटामोल’ को ट्रेलर र टिजर ओएस आर डिजिटलमार्फत युट्युबमा सार्वजनिक भइसकेका छन्, जसले लाखौं भ्यूज प्राप्त गरिसकेको छ।
निर्माण पक्षका अनुसार चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि समेत तयारी भइरहेको छ। नेपालसँगै थाइल्याण्ड, जापान, अस्ट्रेलिया, अमेरिका, मलेसिया लगायत नेपाली समुदाय रहेका विभिन्न देशहरूमा चलचित्र प्रदर्शन गरिनेछ।
‘सिटामोल’ एउटा साधारण चलचित्र मात्र नभई नेपाली समाजको मौन, अनदेखा र असुनिएको पीडाको प्रतिनिधि स्वर बनेर दर्शकसामु प्रस्तुत हुँदैछ।














प्रतिक्रिया