समाचार

छिप्रीदहमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन



रुकुमपूर्व, — रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदह बजार नजिकैको मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो बस र ट्याक्टर आपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति नभए पनि दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

दुर्घटना दिउँसो करिब १:३० बजे भएको हो। डोल्पाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७४७५ नम्बरको यात्रुबाहक बस र सोही दिशातर्फ गइरहेको रा.१ त ३८५४ नम्बरको ट्याक्टर आपसमा ठोक्किएका थिए।

बस चालक सिन्धुलीको कमलामाई नगरपालिका–७ निवासी करिब २६ वर्षीय चुणामणि कार्की र ट्याक्टर चालक रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, ढकालबारा निवासी करिब २५ वर्षीय दिलबहादुर बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय रूकुमपूर्वले जानकारी दिएको छ ।

दुर्घटनापछि दुवै सवारीसाधन र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ। घटनास्थलमा प्रहरी निरीक्षक वीरबहादुर थापाको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली खटिएको थियो।

प्रहरीका अनुसार दुर्घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वबाट करिब १ किलोमिटर पश्चिममा रहेको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार, ,