मनसुनी रेखा नेपालतर्फ सक्रिय हुँदै गएकाले आज साँझदेखि पर्सि बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बङ्गालको खाड़ी र अरब सागरबाट पानी पार्ने हावाको आगमनसँगै उक्त क्षेत्रहरूमा न्यूनचापीय प्रणाली सक्रिय भएकाले मौसम अस्थिर हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले सीआईएनसँगको कुराकानीमा जानकारी दिनुभयो।
विभागका अनुसार, भारी वर्षाका कारण विशेष गरी नदी किनार, डुबान सम्भावित क्षेत्र तथा पहिरो जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ। अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै विभागले चेतावनी दिएको छ। सीमित समयमै अत्यधिक वर्षा हुन सक्ने भएकाले तराई क्षेत्रका केही स्थानहरूमा डुबानको जोखिम रहने विभागको भनाइ छ। साथै, यसले दैनिक जनजीवन, कृषि, पर्यटन, निर्माण कार्य तथा सड़क र हवाई यातायातमा समेत प्रतिकूल असर पार्न सक्ने अनुमान गरिएको छ।
विभागले नागरिकलाई मौसमबारे जानकारी लिन तथा जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।








प्रतिक्रिया