रुकुमपूर्व – बर्खा सुरु भएसँगै रुकुमपूर्वका विभिन्न क्षेत्रका किसानहरू लेकतिर उकालो लाग्न थालेका छन्।
बर्खे बाली मकै खेतीको सिजन सुरु भएसँगै किसानहरूले आवश्यक तयारी पूरा गरी लेकतर्फ गएका हुन्। हरियालीले ढकमक्क ढाकिएको लेक, चिसो मौसम र रमाइलो वातावरणमा काम गर्न पाउँदा उनीहरू उत्साहित देखिएका छन्।
सिस्ने गाउँपालिका–२ सुर्दीका अधिकांश किसान पनि लेकतर्फ लागिरहेका छन्। लेकमा हरियाली बढेपछि घरपालुवा जनावरलाई खुला स्थानमा चराउन पाउनुका साथै आफ्नै मुखले घाँस खान दिन सकिने भएकाले किसानहरू लेकतिर उकालो लाग्ने गरेका हुन्। सोही वडाका किसान गोविन्द कामी भन्छन्, “लेकको हरियाली, चराचुरुङ्गीको आवाज र जनावरहरूको छपछप आवाजले केही वर्ष त्यहीँ बस्न मन लाग्छ।”
अर्का किसान सुरेश रामजालीका अनुसार जति हरियाली भए पनि घरपालुवा जनावरका लागि घाँस काटेर ल्याउन कठिन हुने भएकाले लेकतिर बस्न जानु बाध्यताको रूपमा रहेको छ। “घाँस काट्ने झन्झटभन्दा पनि लेकतिर लगेर सिधै चराउन दिनु सजिलो हुन्छ,” उनले भने।
किसान धनबहादुर कामीले पुर्ख्यौली पेसा खेतीपातीलाई निरन्तरता दिँदै आफूहरू वर्षात्को समयमा लेकतिर बस्न जानुपर्ने बताए। “लेकको हरियालीसहितको रमाइलो वातावरणले लामो समय बस्दा पनि गाह्रो हुँदैन,” उनले बताए।
स्थानीय अगुवा मोहनकुमार रोका मगरका अनुसार विगतदेखि चल्दै आएको खेतीपातीको पद्धतिलाई यहाँका किसानहरूले अझै पनि जोगाइरहेका छन्। “बर्खाको चरणमा कतै पनि जनावर थुन्ने काम नगरिएकोले किसानलाई सजिलो भएको छ,” उनले जानकारी दिए।
लेकतिर उक्लिएका किसानहरू करिब दुईदेखि तीन महिना त्यहीँ बस्ने गर्छन् र फेरि घर फर्कने परम्परा रहेको छ। बर्खे बाली, पशुपालन र प्रकृतिको नजिक रहेर बिताउने यो समय किसानहरूको लागि महत्त्वपूर्ण मानिन्छ।














प्रतिक्रिया