समाचार

अब रुकुमपूर्वमै मिनरल वाटर उत्पादन



रुकुमपूर्वका उपभोक्ताहरू अब बाहिरी जिल्लाबाट आयात गरिएको मिनरल वाटरमा मात्र निर्भर रहनु पर्ने छैन। सिस्ने गाउँपालिका–६, खोपीचारमा ‘सिस्ने हिमाल शुद्ध पिउने पानी उद्योग’ सञ्चालनमा आएसँगै स्थानियस्तरमै प्रशोधित पानी उत्पादन र वितरण सुरू भएको छ।

करिब एक करोड रुपैयाँको लगानीमा स्थापित उद्योग अठाले ग्रुप प्रालिद्वारा सञ्चालनमा ल्याइएको हो। उद्योगले असार महिनादेखि औपचारिक रूपमा उत्पादन शुरू गरिसकेको छ। सञ्चालक सुधन रेग्मीका अनुसार, आवश्यक कानुनी प्रक्रिया र परीक्षण कार्य पूरा गरेपछि उद्योगले बजारमा बोतल र जारमा शुद्ध पानी आपूर्ति गर्न थालेको हो।

“पानी दैनिक रूपमा प्रशोधन गरेर ल्याब परीक्षण गरिन्छ र त्यसपछि मात्र बिक्रीका लागि पठाइन्छ,” रेग्मीले बताए। उनका अनुसार, एक कार्टुन पानीको मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ भने जारको सुरुआती मूल्य ६ सय रुपैयाँ राखिएको छ। त्यसपछि जार फेर्दा ७० रुपैयाँ मात्र लाग्ने व्यवस्था गरिएको छ।

रुकुमपूर्वमा यो दोस्रो मिनरल वाटर उद्योग हो। यसअघि २०७७ सालमा सिस्ने–७, चिसापानीमा स्थापना गरिएको उद्योग केही समयमै बन्द भएको थियो। हालसम्म रुकुमपूर्वमा दाङ, रुकुमपश्चिम र सल्यान जस्ता जिल्लाबाट पानी आपूर्ति हुने गरेकोमा, अब स्थानीय उद्योगको पानी बजारमा उपलब्ध हुन थालेको छ।

स्थानीय उद्योग सञ्चालनमा आउनुले न केवल स्वच्छ पानीको पहुँचलाई सहज बनाएको छ, बरु स्थानीय रोजगारी र आर्थिक चहलपहलमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित : ४ श्रावण २०८२, शनिबार, ,