समाचार

रुकुम पूर्वमा संविधान दिवस २०८२ भव्य



रुकुम पूर्व । संविधान दिवस २०८२ शुक्रबार रुकुम पूर्वमा भव्य समारोहका साथ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति, रुकुम पूर्वको आयोजनामा जिल्ला समन्वय समितिको कार्यालयबाट नारा–जुलुस सहित सिस्ने गाउँपालिकाको सभाहलमा विशेष कोणसभा सम्पन्न भएको हो ।

सभामा सम्बोधन गर्ने वक्ताहरूले संविधान जनताकै आन्दोलनको परिणाम भएको र यसको रक्षा तथा परिमार्जनमा जनताको अधिकार भएको जोड दिए । उनीहरूले दस वर्षअघिको जनआन्दोलनको उपलब्धि स्वरूप आएको संविधानलाई आवश्यकतानुसार संशोधन गर्दै संरक्षण गर्नुपर्नेमा एकमत व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलका प्रतिनिधिहरूले संविधानको उत्पत्ति जनताबाटै भएकाले यसको रक्षा पनि जनताकै हातमा रहने बताए ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले नेपालको संविधानले देशको नेतृत्व तहमा समावेशिता ल्याएको उल्लेख गर्दै आदिवासी जनजाति, दलितलगायत पछाडि पारिएका समुदायका छोराछोरी नेतृत्वको अवसरसम्म पुगेको तथ्य प्रस्तुत गरेका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले २०७२ सालमा भएको संविधान संशोधनले गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिकताको मार्ग प्रशस्त गरेको बताए । उनले युद्धकालीन संघर्ष र जनआन्दोलनको उपलब्धिको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा युवा पुस्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले सत्तापक्ष र प्रतिपक्ष दुवैले संविधानको रक्षा गर्ने जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । उनले जनताको चाहना अनुसार संविधानलाई बलियो बनाउन सबै दल उत्तरदायी हुनुपर्ने जोड दिएका छन् ।

त्यसैगरी, समितिका प्रमुख मेघबहादुर श्रेष्ठले हालैको जेन-जेड आन्दोलनले साधारण नागरिकमा समेत संविधानको स्थायित्वबारे प्रश्न उठाएको बताउँदै अब पुनः संशोधनको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । उनले जनयुद्ध र १९ दिने जनआन्दोलनको बलिदानबाट प्राप्त संघीयता र गणतन्त्रलाई सुदृढ बनाउन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा आयोजित हाजिरी-जवाफ प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि प्रमाणपत्रसहित नगद पुरस्कार हस्तान्त्रण गरिएको थियो ।

संविधान दिवस मूल समारोह समिति, रुकुम पूर्वका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा उपप्रमुख मोहनबहादुर केसीको प्रमुख आतिथ्यता रहेका थियो ।

त्यस्तै, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी सीता परियार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, चारै सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख, जिल्ला स्थित पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको सभाको सञ्चालन जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी रबिन्द्र बुढाक्षेत्रीले गरेका थिए । भने स्वागत मन्तव्य सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले राखेका थिए ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार, ,