सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकमाथि बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै रुकुम पूर्वका विभिन्न संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सचेत युवा समाज रुकुम पूर्वका संयोजक तथा समाजसेवी चन्द्र रसाइलीको संयोजनमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्रमा उक्त जघन्य घटनाको पारदर्शी र छिटो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
संघसंस्थाहरूले महिला तथा बालिकामाथि बढ्दो हिंसाले समाजलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गर्दै पीडित परिवारलाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
यस विषयमा बोल्दै संयोजक चन्द्र रसाइलीले इनिसा विकमाथि भएको घटना अमानवीय र असह्य भएको भन्दै दोषीलाई कडा कारबाही गरी पीडित परिवारलाई छिटो न्याय दिन राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।
त्यस्तै नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संयोजक दिपा धितालले महिला तथा बालिकामाथि हुने हिंसा रोक्न राज्य अझ जिम्मेवार बन्नुपर्ने बताएकी छन् । बाल सञ्जाल रुकुम पूर्वकी अध्यक्ष टीका केसीले बालिका तथा किशोरीमाथि हुने हिंसा रोक्न कडा कानुनी कार्यान्वयन र प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।
ध्यानाकर्षण पत्रमा नेपाल महिला सामुदायिक सेवा केन्द्र, सर्वाङ्गीन विकास केन्द्र, तरिङ्गिणी फाउण्डेसन, महिला मानव रक्षक सञ्जाल रुकुम पूर्व, अन्तर पार्टी महिला सञ्जाल, राष्ट्रिय दलित पत्रकार संघ रुकुम पूर्व तथा बाल सञ्जाल रुकुम पूर्वका प्रतिनिधिहरूले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन् ।
संघसंस्थाहरूले घटनालाई सरकारले गम्भीर रूपमा नलिए नागरिक समाज थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।।














प्रतिक्रिया