राजनिती

रुकुम पूर्वमा नेकपाको सक्रियता तीव्र



रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीको सक्रियता बढेको छ । आगामी चुनाव लक्षित गर्दै पार्टीले विभिन्न पालिकाको बैठक सँगै कार्यकर्ता भेटघाट गर्ने कार्य तीब्र गतिमा चाल्दै गएको छ ।

त्यसै क्रममा नेकपाले रुकुम पूर्वमा रहेका तीन पालिकामा पार्टीको बैठक सम्पन्न गरेको छ । पार्टीले मंगलबारसम्म सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको बैठक सम्पन्न गरेको तत्कालीन माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य जीवन केसीले जानकारी दिए ।

नेकपाको गाउँ केन्द्रित कार्यक्रम एवं बैठकले वडा स्तरमा गएर भावी योजना, जतनाका सुझाव संकलन र आगामी निर्वाचनका लागि रणनीति तय गर्ने उद्देश्य रहेको छ ।

पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले नेताका व्यक्तिगत इच्छा वा आकांक्षा अनुसार होइन, जनताको आवश्यकता र सुझाव अनुसार पार्टी चलाउनुपर्नेमा जोड दिए । उनले भने, “हामी गाउँ केन्द्रीत कार्यक्रममार्फत जनताको सुझाव संकलन गरेर योजना बैंक तयार गर्नेछौं र ती योजनाहरू जिल्लाको विकासका लागि प्रयोग गरिनेछ ।”

मुख्य सचिव पुनले समाजवादको मोडेल रुकुम पूर्वबाट तयार गर्नुपर्ने बताए । उनले यहाँको आवश्यकता अनुसार सहकारी, उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण र सामाजिक न्यायमार्फत समाजवादको आधार तयार गरिने बताए ।

मुख्य सचिव पुनले आगामी निर्वाचनमा नेकपालाई अत्यधिक मतले विजय गराउनुपर्ने जोड दिँदै, विगतदेखि नै पार्टीले जित हासिल गर्दै आएको र प्रतिनिधिसभा निर्वाचनमा पनि जनताको योजनाअनुसार विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले अन्य पार्टीहरूका पास सिद्धान्त वा लक्ष्य नभएको भन्दै जनतालाई सचेत रहन अपिल पनि गरेका छन् ।

समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी र सुनिता बुढामगरले पनि पार्टीलाई अत्यधिक मत दिनुपर्ने र यसबाट हालसम्मको आमूल परिवर्तनलाई थप विकास गर्न सकिने बताए । वडास्तरमा केन्द्रीय सदस्यहरूको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको र कार्यक्षेत्र तोकिएको पार्टीका पालिका संयोजकहरूले जानकारी दिएका छन् ।

नेकपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै रुकुम पूर्वलाई पार्टीको आधार क्षेत्रका रूपमा थप मजबुत बनाउने लक्ष्य लिएको छ ।

पार्टीले तीन पालिकाको ३१ वटै वडामा केन्द्रित हुने जनाइएको छ । पार्टीले प्रत्येक केन्द्रीय सदस्य हुँदै प्रदेश, जिल्ला, पालिका लगायत वडा स्तरमा कार्यकर्तालाई सक्रिय भूमिकामा रहन आग्रह गरेको छ ।

प्रकाशित : १५ माघ २०८२, बुधबार, ,