रुकुमपूर्व , मध्यपहाडी लोकमार्गमा नाली सफाइ नहुँदा र नयाँ बनेका ग्रामीण सडकमा नाली नै नबन्दा रुकुम पूर्वका धेरै सडक वर्षेनी जोखिमपूर्ण बन्दै आएका छन् । पानी निकासको अभावले वर्षा शुरु हुनासाथ सडक भत्किने, हिलाम्मे बन्ने र यातायात अवरुद्ध हुने समस्या दोहोरिरहने गरेको छ ।
स्थानीयका अनुसार वर्षौंदेखि थुनिएका नाली सफाइ नहुँदा पानी सडकमै बग्ने गरेको छ । यसले सडक सतह भत्काउने, खाल्डाखुल्डी बढाउने र दैनिक यात्रा जोखिमपूर्ण बनाएको उनीहरूको अनुभव छ । सिस्ने, पुथा उत्तरगंगा र भुमे गाउँपालिकाका ग्रामीण सडकमा नाली अभावकै कारण वर्षेनी मर्मत दोहोरिनु परिरहेको छ, जसले परिणाम भने शून्यजस्तै रहेको स्थानीयवासीहरूको गुनासो छ ।
नयाँ निर्माण हुने ग्रामीण सडकमा पनि नाली निर्माण ‘छुट्ने’ बानी अझै नसकेको स्थानीयले बताउँछन् । करोडौं बजेट खर्चेर सडक बन्ने तर पानी निकासको व्यवस्था नहुँदा केही महिनामै सडक पुनः बिग्रने र मर्मतको चक्रमा पर्ने गरेको उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केबेन्द्र गौतम बताउँछन् ।
“सडक बनाउने ठाउँ–ठाउँमा डोजर पुग्छ, तर नाली बनाउनेबारे कसैको ध्यान छैन,” अध्यक्ष गौतम भन्छन्, “मध्यपहाडी लोकमार्गको नाली सफाइ नगर्दा समस्या ग्रामीण सडककै जस्तो हुँदै गएको छ। सबैले यसमा जोड दिनुपर्छ ।”
बुद्धिजीवीहरूको भनाइमा, वर्षेनी सडक मर्मतका नाममा लाखौं रुपैयाँ खर्च भए पनि स्थायी समाधान दिने संरचना निर्माणमा जिम्मेवार निकायले ध्यान नदिँदा सार्वजनिक धन दोहोरो रूपमा खर्चिन बाध्य भएको छ । नाली सफाइ नगर्ने र नाली निर्माणमै लापरवाही देखिने योजनालाई उनीहरूले गैरजिम्मेवार भन्दै आलोचना गरेका छन् ।
सडक पूर्वाधार तथा गाउँपालिकाका प्रतिनिधिहरूले जनशक्ति अभाव, निरन्तर बजेटको कमी र प्राथमिकता स्पष्ट नहुँदा नाली व्यवस्थापन प्रभावित भएको स्वीकार गर्छन् । तर विज्ञहरू भने “पहिले नाली, अनि सडक” भन्ने मूल सिद्धान्त पूरा नगरेसम्म कुनै पनि सडक टिकाउ नहुने बताउँछन् ।
नाली व्यवस्थापनलाई आवश्यक प्राथमिकता नदिँदासम्म रुकुम पूर्वका सडक वर्षेनी जोखिमपूर्ण बन्दै जाने र यातायात समस्या झनै गहिरिँदै जाने निश्चितजस्तै देखिएको छ ।






































प्रतिक्रिया