समाचार

थबाङमा उज्यालो पुगेको ऐतिहासिक क्षण : केन्द्रीय विद्युत लाइन उद्घाटन



रोल्पा — दशकौँदेखि प्रतिक्षामा रहेका थबाङवासी अब केन्द्रीय विद्युतको उज्यालोमा रमाइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन आइतबार औपचारिक रूपमा थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठुलो गाउँसम्म पुगेको हो ।

लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले एक विशेष समारोहबीच बटन थिचेर थबाङमा केन्द्रीय विद्युत आपूर्तिको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै सांसद पुनले भन्नुभयो, “रोल्पामा अहिले करिब ३६ हजार घरमा बत्ती पुगेको छ । करिब ५२ हजार घरधुरीमध्ये ७५ प्रतिशतले अहिले केन्द्रीय विद्युत पाएका छन् । २०६४ सालअघि जहाँ मात्र १९ प्रतिशतले बत्ती देख्थे, आज रोल्पाले विद्युत क्षेत्रमा ठूलो फड्को मारेको छ ।”

उहाँका अनुसार, अर्थमन्त्रीका रूपमा काम गर्ने समयमा रोल्पा जिल्लामा उल्लेख्य बजेट ल्याउन सकिएको थियो, जसको प्रतिफल आज थबाङसम्म उज्यालो पुगेको रूपमा देखिएको हो । उहाँले थप्नुभयो, “हालसम्म रोल्पामा करिब १ सय ४ करोड रुपैयाँ बराबरको लगानी विद्युत क्षेत्रमा भइसकेको छ ।”

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, रोल्पाका प्रमुख अशेश्वर शाहले लामो समयको योजना र चुनौतीपूर्ण यात्रापछि थबाङमा बत्ती बाल्न सफल भएको बताउनुभयो । उहाँका शब्दमा, “विद्युत पुग्नु भनेको केवल बत्ती बाल्नु होइन, यो गाउँमा आर्थिक रूपान्तरणको ढोका खोल्नु हो ।” शाहले आगामी वर्षमा बाँकी वडाहरूमा पनि विद्युत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले विद्युत पुगेपछि स्थानीयवासीको उत्साह शब्दमा अभिव्यक्त गर्न नसकिने बताउनुभयो । उहाँले भने, “विद्युत थबाङको जीवन–रेखा थियो । आज त्यो सपना पूरा भएको छ । अब हामी उद्योग, पर्यटन र सूचना प्रविधाको माध्यमबाट आत्मनिर्भर थबाङको बाटोमा अघि बढ्नेछौं ।”

थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठुलो गाउँका करिब २५० घरधुरीमा अहिले प्रत्यक्ष रूपमा केन्द्रीय विद्युत आपूर्ति सुरु भइसकेको छ । बत्ती बालिएसँगै स्थानीयवासीहरू अध्ययन, सञ्चार, व्यवसाय र हरेक दिनको काममा सहजता अनुभव गरिरहेका छन् ।

उद्घाटन समारोहमा गाउँपालिका प्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, रुकुमपूर्व र रोल्पाका सरोकारवाला निकायहरू तथा थबाङका बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित : २४ कार्तिक २०८२, आइतबार, ,