रूकुमपूर्व । लगातार वर्षाका कारण भूमे गाउँपालिका–६ महत क्षेत्रका बाली, बाटो र जनजीवन प्रभावित भएका छन् । अविरल वर्षाले खेतबारीमा रहेका मकै, नाली तथा अन्य बालीमा क्षति पुर्याएको स्थानीय कृषकहरूले बताएका छन् ।
कृषक लैनकुमारी सुनारका अनुसार अविरल वर्षाले खेतका नाली बगाएका छन् र मकै राखिएको खामा समेत ढलेको छ । मकै भाचिसकिए पनि मकैको नल राख्न बाँकी रहेको उनले बताइन् । उनका अनुसार पानीले नल बिझाएर बोक्नसमेत गाह्रो भएको छ ।
महतस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज तुलसीराम चौधरीका अनुसार वर्षाका कारण खाबाङतर्फ जाने बाटो हिलोले अवरुद्ध भएको छ । हिलोका कारण सवारीसाधनको आवागमनमा समस्या उत्पन्न भएको उनले बताए ।
स्थानीय कृषक जयमान सुनारले लगातारको वर्षाले खेत जोतेर बाली लगाउन कठिनाइ भएको बताए । विद्यालयसमेत वर्षाको असरबाट अछुतो छैन । विद्यालयका प्रधानाध्यापक सुदीप श्रेष्ठका अनुसार टाढा ठाउँबाट विद्यालय आउन विद्यार्थीहरूलाई निकै समस्या भएको छ ।
अविरल वर्षाका कारण गाउँका सडक, कृषि तथा शिक्षाक्षेत्रमा दैनिक गतिविधि प्रभावित भएका छन् ।



































प्रतिक्रिया