समाचार

रूकुमगाड (बालुवा) खोला पुल बनेपछि आवतजावतमा सहज



रूकुमपूर्व । रूकुम पूर्वको भूमे गाउँपालिका,- ५ र ६ को सिमानामा रहेको रूकुमगाड (बालुवा) खोलामा पुल बनेपछि स्थानीयवासीहरूको दैनिक आवतजावत सहज बनेको छ । करिब ४१.२० मिटर लम्बाइ र ४.२५ मिटर चौडाइको यो पुल बनेपछि सवारीसाधन र पैदल यात्रु दुबैका लागि यातायातमा सहजता आएको हो ।

पहिले पुल नहुँदा खोलो पार गर्न निकै कठिन हुने गरेको स्थानीयवासीहरूको भनाइ छ । विशेषगरी बर्खाको समयमा खोलामा पानी बढ्दा यात्रु र सवारीसाधन दुबैका लागि जोखिमपूर्ण स्थिति सिर्जना हुने गर्थ्यो । अहिले भने सो जोखिम अन्त्य भएको छ ।

स्थानीयहरूका अनुसार, घाँस–दाउरा, मेला–पात वा घट्टमा अन्न पिस्न जाँदा खोलाको जोखिम मोलेर जानुपर्ने बाध्यता थियो । पुल बनेपछि दैनिक कामकाजमा पनि सहज वातावरण सिर्जना भएको उनीहरूले बताए । पहिले त्यहाँ झोलुङ्गे पुल रहेको र सडक मर्मतका क्रममा त्यसमा क्षति पुग्दा पुल तर्दा निकै जोखिम महसुस हुने गरेको जानकारी स्थानीयहरूले दिएका छन् । अहिलेको स्थायी पुल बनेपछि बस्ती आसपासका मानिसहरूमा आत्मविश्वास र सहजता बढेको उनीहरूको भनाइ छ ।

यात्रु अनिता विकका अनुसार, पुल बनेपछि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, बिरामी र सर्वसाधारण सबैलाई आवतजावतमा सहजता आएको छ । उनका अनुसार, पहिले पुल नहुँदा बर्खाको समयमा यात्रुहरूले दुई गाडी साटासाट गरेर खोला तर्नुपर्ने बाध्यता थियो, तर अहिले जुनसुकै समयमा पनि सजिलै ओहोरदोहोर गर्न सकिन्छ ।

त्यसैगरी गाडी चालक हरी बुढाका अनुसार, पुल निर्माण अघि बर्खाको समयमा दुई गाडी खोलाको किनारमै रोक्नुपर्ने अवस्था आउँथ्यो । अहिले पुल बनेपछि आवागमनले सहज रुप लिएको छ । उनका अनुसार, रूकुमगाड (बालुवा) खोलादेखि देउखोला सडकखण्डसम्म पिज बाटो बनेसँगै यात्रुहरूको यात्रा मात्र होइन,गाडी चालकको दैनिक जीवन पनि सहज बन्दै गएको छ ।

रूकुमगाड (बालुवा) खोला पुल बनेपछि सिस्ने गाउँपालिका–१ र २ तथा पुथा उत्तरगंगा गाउँपालिका–७, ८ र १४ लगायतका बासिन्दालाई पनि आवतजावतमा सहजता आएको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित : १० कार्तिक २०८२, आइतबार, ,