रूकुम पूर्व । सिस्ने गाउँपालिका–२ सुर्दीका स्थानीयवासीको जीवनस्तर पछिल्ला वर्षमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ । नेपाल मगर समाज मिक नेपाल को पहल र सक्रियताका कारण स्थानीय नागरिकहरू श्रम, कृषि र आत्मनिर्भर जीवनशैलीतर्फ आकर्षित भएका हुन् ।
पहिले श्रम गर्न हिचकिचाउने यहाँका बासिन्दा अहिले आफ्नै श्रममा भरोसा राख्दै उत्पादनमुखी बन्न थालेका छन् । मिक नेपालका स्वयंसेवक दलबहादुर घर्तीका अनुसार, “पहिले काम गर्न नमान्ने समाज अहिले कृषि उत्पादनमा आफैं अग्रसर भएको छ । पहिले छिमेकी टोलबाट तरकारी मागेर खानुपर्ने अवस्था थियो, तर अहिले प्रत्येक घरधुरीले वर्षभरि खान पुग्ने तरकारी आफ्नै बारीमा उत्पादन गर्न थालेका छन् ।
त्यस्तै स्थानीय सविता विकका अनुसार, मिक नेपालको सक्रियतापछि गाउँमा जीवन सहज र व्यवस्थित बनेको छ । पहिले अरूको बारीमा पाकेको तरकारी टिपेर खाने चलन थियो, अहिले प्रत्येक घरमा आफ्नै बारी र नर्सरी भएको विकले बताए । हाल नेपाल मगर समाज मिक नेपाल ले स्थानीय किसानहरूलाई निःशुल्क तरकारी बीउ वितरण गरेको पनि उनले जानकारी दिए ।
मिक नेपालद्वारा सञ्चालित नर्सरीका सञ्चालक गोविन्द कामीले स्थानीयस्तरमै उत्पादन गरिएको तरकारी, बाली र फलफूलले गाउँमा आत्मनिर्भरता बढाउने सम्भव देखिएको औंल्याए। पहिले छिमेकीलाई पैँचो गरी ल्याएर खानुपर्ने अवस्था थियो, अहिले गाउँमै पर्याप्त उत्पादन हुन थालेको छ” उनले भने ।
त्यस्तै कृषक तथा टोल विकास समितिका अध्यक्ष सुरेश रामजालीका अनुसार, मिक नेपालले गाउँमा नयाँ सोच र व्यवहार ल्याएको छ । “यो संस्थाले यहाँका युवाहरूलाई श्रमप्रति प्रेरित गरेको छ, जसका कारण गाउँको श्रमिक भावनाको समेत सुधार हुँदै गएको छ” उनले बताए।
नेपाल मगर समाज मिक नेपाल ले सञ्चालन गरेका चेतनामूलक कार्यक्रम, निःशुल्क बीउ वितरण, कृषी तालिम तथा नर्सरी स्थापनाले सिस्ने गाउँपालिका–२ सुर्दीका नागरिकको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयहरूले बताएका छन् । समाजको निरन्तर सक्रियताले गाउँमा आत्मनिर्भरता, सहकार्य र सामूहिक विकासको नयाँ संस्कार स्थापित भएको देखिन्छ ।















प्रतिक्रिया