रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले शुक्रबार आफ्नो ७० औं वार्षिक उत्सव एक विशेष समारोहका साथ भव्यरुपमा मनाएको छ । देश र जनताको सेवामा आफ्नो अमूल्य जीवन आहुति दिने महान् सहिद प्रहरीको स्मरण गर्दै अमर प्रहरीको सम्मानमा फूल अर्पण गरी यो दिवस मनाइएको हो । कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रहरी अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले प्रहरीको भूमिका पेसामा मात्र सीमित नरहेको बताए । उनले भने, “नेपालको संविधान बचाउन र निमुखा जनताको अधिकार सुनिश्चित गर्न प्रहरीको जिम्मेवारी अहम् छ ।” डीएसपी यादवले राणाशासन व्यवस्थादेखि हालको प्रजातान्त्रिक व्यवस्थासम्म पनि प्रहरी आफ्नो जिम्मेवारीमा अडिग रहेको जानकारी दिए । उनले प्रहरीले एक दिन मात्र सुरक्षा बन्द गर्ने हो भने देशको अवस्था भयावह हुन सक्ने चेतावनी दिँदै, सुरक्षा प्रदान गर्ने प्रहरीलाई नै कतिपय अवस्थामा दुश्मनको दर्जामा हेर्ने नेपाली समाजको प्रवृत्तिप्रति दुःख व्यक्त गरे । प्रहरीले जागिरका लागि मात्र नभई समाज र देशको सुरक्षाका लागि आफ्नो कर्तव्यमाथि कटिबद्ध रहेको उनको भनाइ थियो ।
डीएसपी यादवले सबै नेपाली जनता बर्दी बिनाका प्रहरी भएको बताउँदै, देशको सुरक्षाका लागि सम्पूर्ण नेपाली एक भएर खटिनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय सुरक्षामा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार, देशमा शोकको अवस्था रहेका कारण यस वर्षको प्रहरी स्थापना दिवसमा प्रहरी सहिद परिवार, अमर प्रहरीका परिवारजन, पूर्वप्रहरी कर्मचारी, पत्रकारलगायतलाई आमन्त्रित गरिएको थियो । यस अवसरमा देश र समाजका लागि पुर्याएको योगदानको कदर गर्दै दुई जना पूर्वप्रहरीलाई सम्मान गरिएको थियो । साथै, प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन प्रहरी नायब निरीक्षक करण विकले गर्नुभएको थियो । समारोहमा पूर्वप्रहरी कर्मचारी, अमर प्रहरीका परिवारजन, सञ्चारकर्मी तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।















प्रतिक्रिया