रूकुम पूर्व । पछिल्लो समयको ‘Gen-Z’ आन्दोलनले देशको राजनीतिक परिवेशमा ठूलो परिवर्तन ल्याएपछि सुशील कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते गर्ने निर्णय गरेको थियो । सो अनुसार निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाएको छ ।
त्यसै क्रममा देशभर मतदाता नामावली दर्ता गर्नेको संख्या क्रमशः बढ्दै गएको भए पनि रूकुम पूर्वमा भने हालसम्म जम्मा २३ जनाले मात्र मतदाता नामावली दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय रूकुम पूर्वका निमित्त प्रमुख बलबहादुर केसीका अनुसार ‘Gen-Z’ आन्दोलन भदौ २४ गतेदेखि हालसम्म पुरुष १७ जना र महिला ६ जना गरी जम्मा २३ जनाले मात्र नामावली दर्ता गरेका हुन् ।
त्यस्तै, जिल्ला निर्वाचन कार्यालय रूकुम पूर्वका सूचना अधिकारी बिरप्रताप पुनका अनुसार हाल मतदाता नामावली दर्ता गर्नेको संख्या न्यून भए पनि तिहारपछि यो संख्या बढ्ने सम्भावना रहेको छ ।
हाल निर्वाचन आयोग र देशभरका सबै जिल्ला निर्वाचन कार्यालयहरूमा आसन्न प्रतिनिधि सभा निर्वाचनका तयारीहरू तीव्र गतिमा अगाडि बढाइँदै छन् ।








प्रतिक्रिया