रूकुम पूर्व । सिस्ने गाउँपालिका–२ सुर्दीमा नेपाल मगर समाज मिक नेपालले गड्यौला उत्पादन सुरु गरेको छ । कृषि उत्पादनमा फाइदाजनक मानिने गड्यौलाबाट तयार हुने मिक्स प्रोटिनयुक्त प्राङ्गारिक मलले माटोको उर्वराशक्ति बढाई कृषकलाई लाभ दिने उद्देश्यसहित यो कार्य अघि बढाइएको हो ।
मिक नेपालका स्वयंसेवक दलबहादुर घर्तीका अनुसार घरमै डोकोमा मल राखेर गड्यौला उत्पादन गर्न सकिने भएकाले यसलाई प्रयोगात्मक रूपमा सुरु गरिएको हो । उनका भनाइमा गड्यौलाबाट उत्पादन हुने मिक्स प्रोटिनयुक्त मलले कृषि उत्पादन वृद्धि गर्ने र किसानलाई थप फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, मिक नेपालद्वारा सञ्चालित नर्सरीका सञ्चालक तथा कृषक गोविन्द कामीले अहिले सामान्य रूपमा डोकोमा मल राखेर उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार आगामी दिनमा निरन्तर चुहिने पानी, मल, गिट्टी र बालुवाको तहगत संरचना प्रयोग गरेर उत्पादनलाई अझ आधुनिक र प्रभावकारी बनाइने योजना रहेको छ ।
नेपाल मगर समाज मिक नेपालले यसअघि कृषि नर्सरी सञ्चालन, प्राङ्गारिक मल उत्पादन, नयाँ बिरुवा उत्पादन तथा वितरण, सिजनअनुसारका तरकारी उत्पादनलगायत गतिविधि गर्दै आएको छ । हाल सुरु गरिएको गड्यौला उत्पादनलाई सोही गतिविधिको निरन्तरता स्वरूप अघि बढाइएको जनाइएको छ ।








प्रतिक्रिया