रुकुमपूर्व । रुकुम पूर्वमा सोमबारदेखि मंगलबारसम्मका विभिन्न घटनामा तीन जना घाइते भएका छन् भने एक स्थानमा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
मंगलबार बिहान करिब ७:३० बजे भूमे गाउँपालिका–४ काँडाबगरमा सडक माथिबाट ढुङ्गासहित सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी नायब निरीक्षक यज्ञबहादुर नगरकोटीको कमाण्डमा पाँच जनाको प्रहरी टोली खटिएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार राति करिब १० बजे सिस्ने गाउँपालिका–४ दादिङका २१ वर्षीय बलबिर पुन घर नजिकै बाटोमा लडेर घाइते भएका थिए । विवाहबाट घर फर्कने क्रममा लडेका उनलाई राति १२ बजे जिल्ला अस्पताल रुकुमकोटमा ल्याईएको थियो । सामान्य उपचारपछि टाउकोमा चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । उनका दाजु कुमार पुनका अनुसार उनको अवस्था मध्यम छ र बोल्न सक्ने अवस्थामा छन् ।
सोही दिन दिउँसो करिब ३ बजे सिस्ने गाउँपालिका–३ पाँगामा लेनदेनको विषयमा विवाद हुँदा २५ वर्षीय देवाकर लामिछानेलाई सोही ठाउँका ४५ वर्षीय नन्दराम लामिछानेले ढुङ्गा प्रहार गरेका थिए । घटनाबारे सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक तुलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले दुवै पक्षलाई सम्झाउने कार्य गरेको थियो । घाइते देवाकरलाई जिल्ला अस्पताल रुकुमकोटमा उपचारपश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया