समाचार

२ महिनामा २७० जना बिरामीले सेवा लिए



रुकुमपूर्वको भूमे गाउँपालिका–८, कोर्जामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गत श्रावणदेखि हालसम्म २ सय ७० जना बिरामीले सेवा लिएका छन् । सूचना प्राप्त मितिसम्म जम्मा २ सय ७० जनाले सेवा लिएको स्वास्थ्य सेवा केन्द्र कोर्जाले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा केन्द्रका अनमी पार्वती पुनमगरका अनुसार, श्रावण महिनामा महिला ७० र पुरुष ४७ गरी १ सय १७ जनाले सेवा लिएका थिए । भाद्र महिनामा भने महिला १२२ र पुरुष ३१ गरी १ सय ५३ जनाले सेवा प्राप्त गरेका थिए ।

सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । बिरामीमा कमजोर मनस्थिति भएका, सुत्केरी, रुघाखोकी, टाइफाइड, पेट दुख्ने, महिनावारीसम्बन्धी, घाउखटिरा भएका जस्ता समस्या भएका बिरामीहरूको उपचार भइरहेको छ । स्वास्थ्य सेवा केन्द्रमा उपचार सम्भव नभएका बिरामीलाई जिल्ला अस्पताल रुकुमकोट, रुकुमपूर्व रेफर गने स्वास्थ सेवा केन्द्रले जानकारी दिएको छ ।

कोर्जा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पछिल्लो समयमा जनजागरण मञ्चले गर्दा उपचार सेवा दिन सहज भएको अनमी पुनमगरले बताए । उपचारमा आवश्यक सामग्री जस्तै उपचार बेड, सोलार, अपाङ्गतामैत्री शौचालय लगायत विभिन्न सामाग्री सहयोग गर्दा त्यहाँका नागरिकको स्वास्थ जनजीवन सहज बनेको छ ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार, ,