रुकुमपूर्व । जेनजी आन्दोलनले नेपालका विभिन्न क्षेत्रमा भौतिक संरचना र राजनीतिक दलका नेताहरूको घरभवन भत्काए, कतै आगजनी समेत गरियो । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई समेत कारागार कब्जा गरेर निकालियो । तर रुकुमपूर्वमा भने आन्दोलन शान्तिपूर्ण नै रह्यो ।
आन्दोलनका क्रममा जेनजी आन्दोलनकारी अम्मर खत्रीले भने, “जति संरचना भत्किए, त्यो नेपाल र हामी नेपालीकै सम्पत्ति हो, कुनै व्यक्तिको व्यक्तिगत सम्पत्ति होइन । यो आन्दोलन शान्तिपूर्ण ढंगले, जेनजी पुस्ताको आन्दोलनलाई एकताको स्वरूपमा गरिएको हो, जसमा धनजनको कुनै क्षति भएको छैन ।”
अर्का आन्दोलनकारी विशाल गिरीले भने, “जेनजी पुस्ताले गरेको आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढेको छ । अब जिल्लाका विकास निर्माणका मागसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । समयानुसार जिल्लामा भएका विभिन्न घटनाको पनि सम्बोधन भइरहेको छ ।”
जेनजी आन्दोलनलाई समर्थन गर्दै अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले आन्दोलनलाई शान्तिपूर्ण बनाउन मद्दत गरेको जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनको मागअनुसार संसद् विघटन हुने भएको छ । देशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्, जुन गणतन्त्रको उपलब्धि हो ।”
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले आन्दोलन शान्तिपूर्ण बनाउन सहज भएको बताएको छ । प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार, आन्दोलनमा खटिएका प्रहरीले अग्रपंक्तिमा नउत्रने र धैर्य अपनाउने निर्देशन पाएका थिए । उनले भने, “प्रशासनले दिनमा निषेधाज्ञा र रातमा कफ्र्यू जारी गरेको थियो । सो क्रममा मदिरा सेवन गर्नेहरूलाई नियन्त्रणमा लिइयो । आन्दोलनकारीले कहिलेकाहीँ बोतल प्रहार गरे पनि प्रहरीलाई सहन आग्रह गरिएको थियो ।”
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले पनि आन्दोलन शान्तिपूर्ण हुन आन्दोलनकारीकै मद्दत भएको बताए । उनका अनुसार, “प्रशासनले दिनमा निषेधाज्ञा र रातमा कफ्र्यू जारी गरेको थियो। आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको थियो । तर आन्दोलन शान्तिपूर्ण नै रह्यो ।”
देशभर जेनजी आन्दोलनले ठूलो हानी–नोक्सानी पुर्याउँदा र अनेकौं ठाउँमा जनधनको क्षति हुँदा पनि रुकुमपूर्वको आन्दोलन भने अत्यन्त शान्तिपूर्ण रह्यो। यसलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन, सुरक्षा निकाय र आन्दोलनकारी सबैको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।















प्रतिक्रिया