रुकुमपूर्व । रुकुमपूर्वका विभिन्न स्थानमा रहेका सहायक सडकहरू अवरुद्ध भएका छन्। बर्खायामसँगै आएको पहिरोका कारण सडकहरू थुप्रै स्थानमा अझैसम्म खुल्न सकेका छैनन् ।
केही स्थानमा सडक सञ्चालनमा आइसकेका छन् भने कतिपय स्थानमा भने सडक सञ्चालनमा ल्याउन बर्खायाम नै सकिनुपर्ने अवस्था छ । सवारी साधनका अनुसार कतै पैदल हिँड्नुपर्ने बाध्यता छ भने कतै जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
यसै क्रममा रुकुमकोट–धाउने हुँदै देउखोला सडकखण्डअन्तर्गत सवारी चालक हरि बुढाका अनुसार धाउने जाने बाटोमा खाल्डो खुल्दा लुष्पाधारा सडकखण्ड हुँदै बालुवा–देउखोला सडकखण्डतर्फ हिँड्ने बाटोमा समेत बीचमा खाल्डो खुलेका छन् । बीच बाटोमा भल बगेर सडक कटान हुँदा यात्रा गर्न कठिन अवस्था रहेको उनले बताए ।
त्यस्तै सिस्ने गाउँपालिका–४ का अनिल बि.क.ले दाडिङ सडकखण्डमा मोटरसाइकलसम्म यात्रा गर्न सहज भए पनि गाडीमा यात्रा गर्न भने जोखिमपूर्ण रहेको जानकारी दिए ।
अर्का स्थानीय यात्रु गौरव बुढाले वर्डिङमा सडक भत्किएकाले कुचिबाङ–धोमै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको बताए । त्यस्तै नाखा–कोल हुँदै किउबाङ सडकखण्ड भने सञ्चालनमा रहेको पुथाउत्तरगङ्गा गाउँपालिका–१२ का स्थानीय मिलन सुनामले जानकारी दिए । उनका अनुसार कोल, त्रिवेणी, जाङ हुँदै जामाबगर सडकखण्ड पूर्ण रूपमा बन्द रहेका छन् ।
त्यस्तै, सदरमुकाम पुग्न तीन वटा गाडी फेर्नुपर्ने समस्या भएको पुथा–६ की स्थानीय पवित्रा सुनारले बताइन् । उनका अनुसार रुकुमकोटसम्म पुग्न त्यहाँबाट नयाँबजारसम्म एउटा गाडी, नयाँबजारदेखि सेरासम्म अर्को गाडी र सेरादेखि अर्को गाडी फेरेपछि मात्र सदरमुकाम पुग्न सकिन्छ ।
यसै क्रममा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले आफू हालसालै आएकोले अवस्थाबारे विस्तृत जानकारी नभएको बताए । पानी रोकिएपछि मात्र सडक खोल्न सम्भव हुने बताउँदै उनले पालिकामा बैठक बसेर अध्यक्षसँग समन्वय गरी सडक सञ्चालनमा ल्याउन छिट्टै पहल गर्ने आश्वासन दिए ।
भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल बि.क.ले वर्षा रोकिएलगत्तै पालिका मातहतका सबै सडक सञ्चालनमा ल्याइएको जानकारी दिए । दसैंपछि सम्पूर्ण सडक खुलाउने र सम्भव भएसम्म सहायक बाटो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
त्यस्तै, पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बि.क.ले बीच बाटोमा खोला रहेको कारण पानीको सतह कम नभएसम्म सडक खोल्न गाह्रो हुने जानकारी दिए । पुल बनाएपछि मात्र सहज हुने बताउँदै उनले पुल नबनाएसम्म ह्याम पाइप राखेर भए पनि अस्थायी रूपमा समस्या समाधान गर्न सकिने बताए। अधिकृत बि.क.का अनुसार गाडी फेरेर भए पनि यात्रुहरू यात्रा गर्न सफल भएका छन् र पानीको सतह कम भए मात्र स्थायी रूपमा समस्या समाधान हुने बताए ।



































प्रतिक्रिया