सल्यान, भदौ ८
सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–१ कुग्रे खोर गाउँमा तीजको दर खाने कार्यक्रममा दलित महिलामाथि जातीय अपमान भएको छ ।
आमा समूहकी अध्यक्ष चन्द्रा रावलले सोही समूहकी सदस्य कमला विश्वकर्मा (बि.क.) लाई सार्वजनिकरूपमै “कामीकी छोरी होस्, तैले बनाएको दर हामी खाँदैनौँ, तैले छोएको पानी चल्दैन” भन्दै गालीगलौज गरेको पीडित पक्षको भनाइ छ ।
अपमानित विश्वकर्माले घटनाबारे अधिकारकर्मीलाई जानकारी गराएकी छिन् । दलित पत्रकार संघ कर्णाली प्रदेश अध्यक्ष भिम परियार, दलित अभियान सल्यानका संयोजक खेमराज सुनार लगायतले घटनाको कडा बिरोध प्रकट गर्दै तत्काल कानुनी कारबाहीको माग गरेका छन् ।
कानुनी व्यवस्था
नेपालको संविधान २०७२ को धारा २४ (३) ले जातीय छुवाछूत र विभेदलाई स्पष्ट निषेध गरेको छ । साथै, जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार जातकै आधारमा सार्वजनिक वा निजी स्थलमा अपमान गर्ने कार्यलाई आपराधिक अपराध मानिन्छ । दोषी प्रमाणित हुने व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
समाजको सन्देश
तीज पर्व मिलन र समानताको प्रतीक मानिन्छ । तर यस्ता विभेदकारी घटनाले अझै पनि समाजमा जातीय भेदभावको गहिरो जरो रहेको देखाउँछ । समानताको मूल्यलाई व्यवहारमै कार्यान्वयन गर्न राज्यको कडाइ, समाजको चेतना र सबै नागरिकको सक्रियता अपरिहार्य छ ।



































प्रतिक्रिया