समाचार

राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना अधिकारीसँग अन्तर्क्रिया



रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको आयोजनामा १९औँ राष्ट्रिय सूचना दिवस विभिन्न सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी मनाइएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा उक्त कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सार्वजनिक निकायहरूले आवश्यक सूचना समयमा नदिएको गुनासो गर्दै तत्काल सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। पत्रकारहरूले आर्थिक वर्ष सकिएता पनि सूचना सम्प्रेषणमा ढिला भएको भन्दै यस्तो प्रथा दोहोरिनु राम्रो नभएकाले सुधारको माग गरेका थिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले नेपालको संविधान, कानुनी संरचना, नागरिकका हक–कर्तव्य, सूचनाको हकसम्बन्धी नियमावली र सूचना अधिकारीको जिम्मेवारीबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना अधिकारीलाई संवेदनशील सूचनामा सावधानी अपनाउन निर्देशन दिँदै सर्वसाधारणलाई सूचना पहुँचमा ल्याउन जोड दिनुभयो। उहाँले पत्रकारलाई पनि आचारसंहिताभित्र रही सूचना माग्न र सम्प्रेषण गर्न सुझाव दिनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित, सहायक प्रमुख अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रमुख, राष्ट्रिय अनुसन्धान अधिकृत, पत्रकार महासङ्घका पदाधिकारी, विभिन्न कार्यालयका सूचना अधिकारी तथा जिल्लामा सक्रिय पत्रकारहरूको उपस्थिति थियो।

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार, ,