रुकुमपूर्वमा पहिलो पटक टपरी उत्पादन उद्योग सञ्चालनमा आएको छ। शनिबार सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उद्योगको उद्घाटन गर्दै यसको औपचारिक सुरुवात गर्नुभएको हो।
यो उद्योग बहुद्देश्य सम्पर्क सेवा प्रा. लि. द्वारा सञ्चालनमा आएको हो। संस्थाका सञ्चालक उपेन्द्रलाल कामीका अनुसार, आर्थिक वर्ष २०८१/०८२ को “प्लास्टिकजन्य वस्तु विस्थापनका लागि जैविक वस्तु प्रवर्द्धन” शीर्षकअन्तर्गत सिस्ने गाउँपालिकाबाट ५ लाख रुपैयाँ र संस्थाबाट १ लाख २५ हजार रुपैयाँको आर्थिक सहयोगमा उद्योग स्थापना गरिएको हो।
उद्घाटन कार्यक्रममा सञ्चालक कामीले उद्योगले हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उहाँका अनुसार, यस उद्योग सञ्चालनसँगै रुकुमकोटमा बाहिरबाट आउने प्लास्टिकजन्य सामग्रीमा रोक लाग्नेछ। साथै, उहाँले अघि बढाइरहेको ‘रुकुमकोट हरियाली अभियान’लाई यसले थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, सिस्ने गाउँपालिका अध्यक्ष रेग्मीले टपरी उद्योगलाई निरन्तरता दिन सबै पक्षलाई आग्रह गरे। उहाँले योजना मात्र बनाएर नभई नियमित रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। रेग्मीका अनुसार, उद्योग सञ्चालनले यहाँका नागरिकलाई रोजगारीको अवसर पनि दिनेछ। पात टिप्ने, टपरी बुन्ने र बजार व्यवस्थापन गर्ने जस्ता काममार्फत धेरै मानिसलाई रोजगार उपलब्ध हुने विश्वास उनले व्यक्त गरे।
अध्यक्ष रेग्मीले उद्योगको दीर्घकालीन सफलताका लागि स्थानीय समुदाय, उपभोक्ता, व्यवसायी तथा सम्बन्धित निकाय सबैको सक्रिय भूमिका आवश्यक रहेको पनि बताए। उहाँले सबैलाई आफ्नो घर-परिवार र समुदायमा प्लास्टिकको प्रयोग घटाई, यस्ता जैविक उत्पादनलाई प्राथमिकता दिन र यसको बजार विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो।








प्रतिक्रिया