home

डेङ्गु विरुद्धको लडाइँ: रुकुमपूर्वमा ‘खोज र नष्ट गर’ अभियान



रुकुमपूर्व, साउन ९ — रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ र ६ मा डेङ्गु रोगको जोखिम कम गर्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालित अभियान अन्तर्गत समुदायमा पुगेर लामखुट्टेले प्रजनन गर्ने स्थानहरू पहिचान गरी नष्ट गरिएको हो।

अभियानमा छिप्रिदह बजार, कैँची मोड, कमल दह, टाकुरा, बाहुन ठाना र चोक बजार क्षेत्रका घर, होटल, ग्यारेज र बगैँचाजस्ता स्थानमा रहेका ड्रम, टायर, गमला र पानी जम्ने भाँडाकुँडामा लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

उक्त अभियानमा जिल्ला समन्वय समिति रुकुमपूर्वका उप–प्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, वडा नम्बर ५ र ६ का अध्यक्ष वीरेन्द्र बस्नेत र पूर्णबहादुर मल्ल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निमप्रसाद गिरी, खोप फोकल पर्सन मनोज श्रेष्ठ, चारै सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले समुदायमै पुगेर जनस्वास्थ्यका विषयमा जनचेतना फैलाउनु सकारात्मक अभ्यास भएको बताउँदै सरसफाइको बानी र सरोकारवालाबीचको समन्वयले मात्र रोग नियन्त्रण सम्भव हुने धारणा राख्नुभयो।

स्वास्थ्य कार्यालयका अनुसार गर्मी र वर्षाको समयमा डेङ्गु फैलिने जोखिम उच्च हुने भएकाले विशेष सतर्कता आवश्यक छ। गमला, टायर र प्लास्टिकका भाँडामा जमेको पानी लामखुट्टेले लार्भा उत्पादन गर्न उपयुक्त हुने भएकाले यस्ता स्थानको नियमित निरीक्षण र सरसफाइ जरुरी रहेको कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गिरीले रोगको असर सानो देखिए पनि ठूलो समस्या निम्त्याउन सक्ने भएकाले प्रारम्भमै सतर्कता अपनाउनु आवश्यक रहेको बताए।

स्वास्थ्य कार्यालयले अभियानलाई अन्य वडामा पनि विस्तार गर्दै विद्यालय, अस्पताल, सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा समेत ‘खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

सहभागीहरूका अनुसार अभियानले समुदायमा जनस्वास्थ्यप्रतिको सरोकार र चेतना अभिवृद्धि गरेको छ। नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बसन्त बाँठा मगरले अभियानले सबै वर्ग र पेशाका व्यक्तिहरूको सहभागिता सुनिश्चित गरेकाले यसलाई समावेशी अभ्यासको नमूना भनेका छन्।

स्वास्थ्य कार्यालयका अनुसार केही दिनपछि पुनः घरघरमा सरसफाइको अवस्थाबारे अनुगमन गरिनेछ।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार, ,