बिचार

युवापुस्ता र नयाँ राजनीतिक सोच



भास्कर (नवीन जैसी)

समाजका विविध संरचना र प्रणालीमा जस्तै, युवापुस्तामा पनि राजनीतिको विषयमा विभिन्न दृष्टिकोण देखिन्छन्। कतिपय युवाहरू राजनीति प्रतिको आस्था र प्रतिबद्धतालाई धर्मसरह मान्छन् — जहाँ फरक–फरक दर्शनले अलग–अलग बाटो देखाए पनि लक्ष्य एउटै हुन्छ : समानता, समृद्धि र न्याययुक्त समाज।

यस्ता युवाहरू विभिन्न विचारधारामा आधारित राजनीतिक दलहरूमा आबद्ध हुन्छन्। उनीहरूको अन्तिम चाहना भनेको देशका लागि उपयुक्त, समयसापेक्ष र माटो सुहाउँदो व्यवस्था स्थापना गर्नु हो। उनीहरू निरन्तर अध्ययन, संवाद र आन्दोलनमार्फत समाजलाई सकारात्मक दिशातर्फ लैजान संघर्षरत रहन्छन्।

युवाहरू राजनीतिक चेतनाले सम्पन्न छन्। जहाँ छन्, जस्तो अवस्थामा छन्, उनीहरू विचार निर्माण र बहसको केन्द्र बन्ने सामर्थ्य राख्छन्। यही चेतनशील वर्ग हो, जसले हिजोका दिनमा राजनीतिक परिवर्तनका प्रत्येक पाइलामा निर्णायक सहभागिता जनायो — चाहे त्यो प्रजातन्त्र स्थापनाको आन्दोलन होस् वा गणतन्त्र आगमनको लहर।

यदि राजनीतिलाई माहुरीको घारसँग तुलना गरिन्छ भने, यिनीहरू नै ती मेहनती कामदार माहुरीहरू हुन्, जसले फूलबाट रस बटुलेर समाज रूपी घारमा विकास, स्थायित्व र परिवर्तनको मधुर मिठास भरिरहेका छन्।

प्रकाशित : १ श्रावण २०८२, बुधबार, ,