खेदकुद

तकसेरामा राष्ट्रिय भलिबल प्रतियोगिता : सबै तयारी अन्तिम चरणमा



मैत्या घर्तीमगर, रुकुम पूर्व
२७ असार २०८२

रुकुम पूर्वको तकसेरामा हुन लागेको जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता तथा विविध खेलकुद–सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

“राँके सेराबाला जाऔँ! भाषा, संस्कृति र इतिहास बचाऔँ!! ३०औँ वार्षिकोत्सव मनाऔँ!! राष्ट्रको प्रतिष्ठा उठाऔँ!” भन्ने मूल नारासहित श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लब, तकसेराले आयोजना गर्न लागेको ३०औँ वार्षिकोत्सव तथा राष्ट्रिय भलिबल प्रतियोगिता साउन ४ गतेदेखि ८ गतेसम्म पुथा उत्तरगंगा गाउँपालिका–११ स्थित सेराबालाको प्राङ्गणमा हुने भएको हो।

प्रतियोगिता र वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजकले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विक्रम संवत २०५२ सालमा स्थापना भई दर्ता भएको उक्त क्लब जिल्लाको पुरानो र प्रभावशाली क्लबमध्ये एक मानिन्छ। क्लबले खामभाषी मगर समुदायबीच छुट्टै सांस्कृतिक र सामाजिक पहिचान स्थापित गर्न सफल भएको छ।

क्लबका अध्यक्ष मिलनकुमार बुदामगर (दिपक) का अनुसार, प्रतियोगितामा राष्ट्रिय स्तरका ६ भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन्। ती टिमहरूमा नेपाल प्रहरी क्लब, नेपाल सशस्त्र प्रहरी बल क्लब, कोशी प्रदेश भलिबल क्लब, गण्डकी प्रदेश भलिबल क्लब, कर्णाली प्रदेश भलिबल क्लब र मणिमुकुण्ड भलिबल क्लब रहेका छन्। अन्तर्राष्ट्रिय नियमअनुसार प्रत्येक टिममा तीनजना विदेशी खेलाडी राख्न सकिनेछ।

खेलाडीहरू साउन २ गतेसम्म तकसेरामा भेला हुने, ३ गते विश्राम गर्ने र ४ गतेदेखि प्रतियोगिता सुरु हुने संयोजक तपस बुदामगरले जानकारी दिनुभयो। खेल अवधिभर सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री तथा पाहुनाका लागि बसोबास, खानपान, सुरक्षाको व्यवस्था आयोजक क्लबले गर्नेछ।

यसपटकको प्रतियोगितामा विजेता टिमलाई रु ५ लाख, दोस्रो टिमलाई रु ३ लाख, तेस्रो टिमलाई रु २ लाख र सान्त्वना पुरस्कारस्वरूप रु १ लाख प्रदान गरिनेछ। साथै ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ।

अन्य खेलकुद तथा सांस्कृतिक प्रतियोगिता र पुरस्कार विवरण यसप्रकार छन्:

महिला भलिबल प्रतियोगितामा
 प्रथम हुने टोलिलाई रु १ लाख,
 दोस्रो टोलिलाई रु ५० हजार
 र तेस्रो टोलिलाई रु २५ हजार प्रदान गरिनेछ।

पुरुष फुटसल प्रतियोगितामा
 प्रथम टोलिलाई रु १ लाख,
 दोस्रोलाई रु ५० हजार
 र तेस्रोलाई रु २५ हजार दिइनेछ।

महिला फुटसलतर्फ
 प्रथम टोलिले रु ३० हजार,
 दोस्रोले रु २० हजार
 र तेस्रोले रु १० हजार प्राप्त गर्नेछ।

लोक दोहोरी गीत प्रतियोगितामा
 प्रथम स्थान प्राप्त गर्ने समूहले रु १५ हजार,
 दोस्रोले रु १० हजार
 र तेस्रोले रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

छेलो खेलमा
 प्रथम स्थान प्राप्त गर्नेले रु ३ हजार,
 दोस्रोले रु २ हजार
 र तेस्रोले रु १ हजार प्राप्त गर्नेछ।

साथै, सबै प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

सांस्कृतिक कार्यक्रमतर्फ स्थानीय लोकसंस्कृति झल्किने नृत्य, गायन, जातीय पहिरन प्रदर्शनलगायत विविध प्रस्तुति समावेश गरिने भएको छ। क्लबका सचिव जीवन बुदामगरका अनुसार, संस्थापक सदस्यहरू, पूर्व खेलाडी तथा समाजसेवीहरूलाई विशेष सम्मानसमेत प्रदान गरिनेछ।

कार्यक्रममा स्थानीय बासिन्दा, राजनीतिक दल, बुद्धिजीवी, युवाहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। साथै राष्ट्रियस्तरका अतिथि, पर्यटनकर्मी, खेल विज्ञ, खेलप्रेमी र समाजसेवीहरूको विशेष उपस्थिति रहनेछ।

क्लबका सचिव बुदामगरका अनुसार, कार्यक्रममा ५५ देखि ६० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ, जसमा एक रुपैयाँ पनि क्लबको नभई सम्पूर्ण रकम दाताहरूको सहयोगबाट संकलन गरिएको हो। हालसम्म अमेरिकाबाट मात्रै झण्डै २५ लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको छ भने अन्य देश तथा नेपालबाट पनि सहयोग संकलन भइरहेको छ।

हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३० वर्षे यात्राले समाज, संस्कृति, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। यस कार्यक्रममार्फत तकसेरालाई मौलिक संस्कृति र समृद्धिको संगमस्थल तथा नमुना पर्यटकीय गन्तव्यको रूपमा उभ्याउने लक्ष्य क्लबको रहेको छ।

प्रकाशित : २७ असार २०८२, शुक्रबार, ,