बिचार

गुरु सम्मानमा केही शब्द…!! गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना!



आज गुरु पूर्णिमा — श्रद्धा, समर्पण र आत्मिक नमनको पवित्र दिन।

गुरु भन्नाले केवल कक्षाकोठामा पढाउने व्यक्ति मात्र होइन, जीवनका प्रत्येक मोडमा उज्यालो छर्ने, अज्ञानको अन्धकार हटाइदिने मार्गदर्शक हुन्। आमा-बुबाको काखमा अक्षर चिनाउने प्रारम्भिक स्पर्शदेखि विश्वविद्यालयमा मूल्य र विचार सिकाउने प्राध्यापकसम्म, उहाँहरू हाम्रो आत्मा छुने उज्यालो दीप हुनुहुन्छ।

गुरु शिष्यका लागि शिक्षक मात्र होइन, सारथी, मित्र, प्रेरक र भविष्यको आधारशिला पनि हुनुहुन्छ। उहाँहरूको योगदान परीक्षा पास गराउनेभन्दा धेरै गहिरो हुन्छ — त्यो हृदयमा पुग्छ, सोचमा बस्छ र जीवनको दिशा नै परिवर्तन गर्छ।

आज म सम्झन्छु —
“केटो केही गर्छ” भन्दै मुस्कुराउनु हुने गुरुआमाको बोली,
पहिलो अक्षर चिनाइदिनु हुने शिक्षक/शिक्षिका,
र हरेक मोडमा सही सल्लाह दिने मेरा आदरणीय प्राध्यापकहरूलाई।

उहाँहरूको हाँसो, विश्वास र समर्पण सधैं मेरो स्मृतिमा जीवित रहनेछ।

तर विडम्बना!
केही दिनअघि एउटा समाचार पढें — एक शिक्षिकाले आफ्ना विद्यार्थीलाई शारीरिक दण्ड दिएकी रहिछन्। त्यो समाचारले मेरो आत्मा काँपियो।
गुरु त डर होइन, प्रेरणाको मूर्ति हुन्।
शिक्षा प्रेम र विश्वासबाट बढ्छ — न त तातो पनिउँले, न त कठोर शब्दले।

आजकल गुरुपूर्णिमामा केक काट्ने, फूल चढाउने, ठूला कार्यक्रम गर्ने होड चलेको देखिन्छ। तर साँचो श्रद्धा व्यवहारमा देखिन्छ।
केक काट्दैमा गुरुको कृपा आउँदैन —
शिष्यको बोली, आचरण र सम्मानजनक व्यवहारमै गुरु-शिष्य सम्बन्धको गहिरो बन्धन बस्छ।

गुरु कुनै बाह्य सजावट होइनन्।
उहाँहरू सहनशीलताको सागर, ज्ञानको सूर्य र निस्वार्थ सेवाको मूर्ति हुनुहुन्छ।
उहाँहरूको मौन तपस्या, अनुशासन र मार्गदर्शन नै विद्यार्थीको सफल भविष्यको जग हो।

अन्त्यमा, कवियत्री देवी नेपालका अमूल्य शब्दहरू स्मरणीय छन्:

“आफू जलेर धर्तीमा उज्यालो गुरु छर्छन्,
आफू गलेर माटोजस्तै मूर्ति निर्माण गर्छन्।
जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ,
जसको त्याग देखेर धर्ती माथि झुक्छ।”

म यस पवित्र अवसरमा, मेरो शिक्षा यात्रामा साथ दिने सम्पूर्ण गुरुहरूलाई नमन गर्दछु।
उहाँहरूकै माया, प्रेरणा र आशीर्वादले म आजको म बनेको हुँ।

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण आदरणीय गुरुजनहरूलाई
सुस्वास्थ्य, शान्ति, दीर्घायु र अनन्त सम्मानको हार्दिक शुभकामना!
हजुरहरूको आशीर्वाद सदा हाम्रो जीवनपथमा प्रकाश बनिरहोस्।

लेखक: दीपक डाँगी
बाल अधिकार अभियन्ता तथा विद्यार्थी नेता, चौरजहारी नगरपालिका, रुकुम (पश्चिम)

प्रकाशित : २६ असार २०८२, बिहिबार, ,