बिचार

नैतिकता — जीवनको मेरुदण्ड र हाम्रो समाजको वास्तविक अवस्था



नैतिकता भनेको के हो ?

नैतिकता भन्नाले हाम्रो सोच, बोली र व्यवहारमा देखिने इमानदारी, करुणा, संयम, सत्य र जिम्मेवारीलाई बुझाउँछ।
यो नियम मात्र होइन, हाम्रो मनको आवाज हो जसले हामीलाई सही र गलत छुट्याउन मद्दत गर्छ।
नैतिकता बिना जीवन र समाज दुबै टिक्न सक्दैन।

हाम्रो व्यवहारमा देखिएका समस्याहरू

आजको समाजमा सबैले एकअर्कासँग व्यवहार गर्ने तरिका सिक्न आवश्यक छ । धेरैजसो अवस्थामा हामीले न कसैसँग शिष्टतापूर्वक कुरा गर्न सक्छौं, न त अरूको विचार सहन सक्ने धैर्य देखाउँछौं ।

सिधा कुरा गर्दा धेरैले अपमान ठान्छन्, सहयोग गरे पनि त्यसलाई गलत रूपमा बुझ्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, हामी आफैंले पनि भावनामा बगेर सोचविचार बिना बोलेका कारण अरूको भावनामा चोट पुग्ने सम्भावना हुन्छ ।

स्पष्ट बोल्नेहरूलाई घमण्डी ठान्ने र मिलनसार देखिन चाकडी गर्नेलाई व्यवहारिक मान्ने सोचले समाजमा दूरी र मनमुटाव बढाइरहेको छ ।

समस्या अरूमा मात्र नभई हामी आफैंमा पनि हुन सक्छ भन्ने बुझ्नु जरुरी छ। त्यसैले, व्यवहारमा नम्रता, विचारमा परिपक्वता र संवादमा समझदारी विकास गर्नुपर्छ। यिनै गुणहरूले आपसी सम्बन्ध मजबुत र स्वस्थ बनाउँछ ।

गीत, भिडियो र फिल्मले पार्ने प्रभाव

आजको डिजिटल युगमा गीत, भिडियो र फिल्म मनोरञ्जनको मुख्य माध्यम बनेका छन् । तर पछिल्लो समय यी सामग्रीहरूमा सिर्जनशीलता र मूल्यभन्दा पनि अश्लीलता, झूटो प्रदर्शन र द्वन्द्वप्रतिको मोह बढ्दै गएको देखिन्छ ।

यस्ता दृश्य र संवादहरूले विशेषगरी युवाको सोच र भावना प्रभावित पार्छन् । कल्पनाभन्दा बढी ‘ग्ल्यामर’ र गलत जीवनशैली देखाइने भएकाले वास्तविकता र भ्रमको बीच छुट्याउन गाह्रो हुँदै गएको छ ।

मनोरञ्जनको नाममा अनुशासन, नैतिकता र संस्कार झन् कमजोर बन्दै गएका छन् । जसले दीर्घकालीन रूपमा व्यक्तिगत व्यवहार र सामाजिक संरचनामा नकारात्मक असर पुर्‍याउन सक्छ ।

त्यसैले, दर्शक मात्र होइन, रचनाकारहरूले पनि जिम्मेवारीपूर्वक सामग्री उत्पादन र छनोट गर्नुपर्छ। स्वस्थ मनोरञ्जनले मात्र चेतना बढाउँछ र समाजलाई सकारात्मक दिशामा डोर्‍याउँछ ।

प्रविधि, सामाजिक सञ्जाल र सम्बन्धमा देखिएका परिवर्तनहरू

आजको युगमा मोबाइल, इन्टरनेट, फेसबुक, टिकटक र युट्युबजस्ता प्रविधिले मानिसहरूलाई छिटो जोड्ने काम गरेको छ। तर, यस सहजतासँगै सम्बन्धको गहिराइमा कमी आएको देखिन्छ ।

धेरै मानिस सामाजिक सञ्जालमा समय बिताउँछन्, तर प्रत्यक्ष भेटघाट र आत्मीय संवाद घट्दो छ। संवादको साटो मतभेद, तिक्तता र मनभित्रको रिस बढेको पाइन्छ ।

अहिले एकअर्कालाई बुझ्ने, सहनशील हुने र आदर प्रकट गर्ने अभ्यास हराउँदै गएको छ । छोटा सन्देश र अधुरो जानकारीले वास्तविकता ओझेलमा परेको छ ।

अरूलाई आकर्षक देखिन झूटा छविको प्रयोग आम भएको छ, जसले पारस्परिक विश्वास र न्यानोपनमा असर पुर्‍याएको छ ।

त्यसैले, प्रविधिको प्रयोगमा होशियार बन्नु आवश्यक छ । सामाजिक सञ्जाललाई ज्ञान बढाउने, सकारात्मक सोच फैलाउने र आपसी सम्बन्ध सुदृढ बनाउने माध्यमका रूपमा उपयोग गर्नुपर्छ, नत्र यसले हामीलाई अलग बनाउँदै लैजान सक्छ ।

धर्म र नैतिकता

साँचो धर्मले मानव हृदयलाई भित्रबाट परिवर्तन गर्न थाल्छ ।
यसले केवल व्यवहार सुधार्ने होइन, सोच, निर्णय र उद्देश्यमा पनि स्पष्टता ल्याउँछ ।

धर्मविहीन जीवन दिशाहीन यात्राजस्तै हुन्छ, जहाँ सत्य र गलत छुट्याउन गाह्रो हुन्छ ।
जब कुनै जीवनमा सत्यको स्रोत गुम्छ, तब नैतिकता केवल सुविधामा आधारित बन्छ — जोसुकैको लागि जे ठीक लाग्यो, त्यही सही ठानिन्छ ।

तर साँचो धर्म आत्मा भित्र बोल्ने मौन आवाजजस्तै हो — जो सहीलाई अडान दिन प्रेरित गर्छ, गलतबाट फर्किन सम्झाउँछ, र नम्रतामा हिँड्न बल दिन्छ ।
हामीले गरेका कामहरू निष्फल हुँदैनन्, तिनको असर पक्कै हुन्छ तर साँचो चेतना डरले होइन, विवेकले जन्मन्छ — जहाँ पश्चात्ताप, क्षमा र फेरि उठ्ने आशा पाइन्छ ।

धर्म र नैतिकता तब मात्र बलियो हुन्छ, जब मानिस आफ्नो जीवन एक उच्च सत्य र उद्देश्य अनुसार बाँच्न थाल्छ — जहाँ स्वार्थ होइन, सेवा प्रधान हुन्छ ।

समाधान

जीवनको यात्रा विद्यालय र परिवारबाट सुरु हुन्छ। यही दुबै थलोमा सत्य, अनुशासन र सहिष्णुताको बीउ रोप्न सक्नुपर्छ, जसको फल आगामी पुस्ताले चाख्न सकोस् ।

नैतिक शिक्षा कुनै विकल्प होइन, यो शिक्षाको मेरुदण्ड हो । त्यसैले, विद्यालयमा नैतिक विषयलाई अनिवार्य शैक्षिक कोर्सको रूपमा समावेश गर्न आवश्यक छ, ताकि ज्ञानसँगै विवेक पनि विकसित होस् ।

सन्तानको मुटुमा जब सच्चाइ, नम्रता र सहानुभूतिको सुरिलो स्वर घन्किन्छ, तब उनीहरूका पाइला उज्यालो मार्गतिर लाग्छन् । यो सुरुवात घरबाटै हुनुपर्छ ।

प्रविधि उपयोगमा चेतनशील बनिनु आवश्यक छ—जे देखिन्छ, त्यो सब सत्य हुँदैन । राम्रो र गलत छुट्याउने सोच बाल्यकालदेखि नै विकास गरिनुपर्छ ।

नेताहरूले बोली होइन, जीवनशैलीमार्फत पाठ पढाउनुपर्छ । जब व्यवहारमै सरलता र निष्ठा देखिन्छ, तब समाज आफैँ बदलिन थाल्छ ।

हामी सबैले पहिले आफूभित्र परिवर्तनको झिल्को खोज्नुपर्छ । जब मन सफा हुन्छ, तब व्यवहार उज्यालिन्छ, अनि त्यो उज्यालो अरूसम्म फैलिन थाल्छ ।

निष्कर्ष

नैतिकता बिना जीवनको मूल्य केवल खोलो जस्तो हुन्छ—बग्छ तर दिशा हुँदैन। जब मानिस सत्यको मार्ग त्याग्छ, तब समाजमा अविश्वास, डर र स्वार्थको बादल मडारिन थाल्छ । तर जब हरेक व्यक्तिले सत्य बोल्ने, इमानदारी अँगाल्ने, अरूलाई आदर गर्ने र आवश्यक पर्दा सहयोगी हात अगाडि बढाउने अभ्यास गर्छ, त्यहीँबाट समाज रूपान्तरणको यात्रामा लाग्छ ।

साँचो परिवर्तन बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ । जब हाम्रो अन्तरमन शुद्ध र सिधा हुन्छ, तब त्यसको असर हाम्रो बोली, व्यवहार र सम्बन्धमा प्रष्ट देखिन्छ। यस्ता परिवर्तनहरूले मात्र वास्तविक शान्ति ल्याउन सक्छन्—जुन कुनै कानून, नीतिगत दस्तावेज वा आर्थिक प्रगतिको भरमा आउँदैन ।

अन्ततः, समाज सुधार्ने सबैभन्दा बलियो शक्ति न त प्रविधिमा छ, न त शासनमा—यो शक्ति त हरेक व्यक्तिको आत्मिक रूपान्तरणमा लुकेको हुन्छ । जब हामी हरेक दिन राम्रो छान्ने, क्षमा गर्ने, र न्यायको पक्षमा उभिने बानी विकास गर्छौं, तब मात्र समाजमा साँचो समृद्धि र स्थायी मेलमिलापको जग बस्छ ।

प्रकाशित : २५ असार २०८२, बुधबार, ,