समाज

रुकुम पश्चिमबाट गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार



रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१४, लिउरेपारिकी गर्भवती धर्मिला विकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

विकलाई पटक–पटक बेहोस हुने समस्या देखिएपछि चौरजहारी अस्पतालमा ल्याइएको थियो। गर्भवती अवस्थासँगै जटिल स्वास्थ्य समस्या देखिएकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएको हो।

चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीका अनुसार धर्मिला विकलाई चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर भएपछि बेलुका ४ बजे हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार अस्पतालले विकको अवस्था गम्भीर भएकाले तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न सिफारिस गरेको थियो। त्यसपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक समन्वय गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत निःशुल्क उद्धारको व्यवस्था गरेको हो।

गर्भवती विकको उद्धार तथा उपचारको समन्वयमा नगरप्रमुख पुष्प वादी स्वयं सक्रिय भएर लाग्नुभएको थियो।

प्रकाशित : २२ असार २०८२, आइतबार, ,