समाज

रुकुम चौरजहारी घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग : बाल सञ्जाल चौरजहारीका अध्यक्ष डाँगी



रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, टाटागाउँमा एक व्यक्तिले आफ्नै श्रीमतीको क्रूर रूपमा हत्या गरेको घटनाले स्थानीय समुदाय स्तब्ध बनाएको छ। घटनाप्रति गम्भीर हुँदै बाल सञ्जाल चौरजहारी नगरपालिकाका अध्यक्ष दीपक डाँगीले दोषीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही गर्न माग गरेका छन्।

उनले भनेका छन्, “यो केवल आमाप्रति भएको हिंसा मात्र नभएर भयावह मानवीय अपराध हो। दोषीमाथि कानुनी कठघरामा उभ्याएर कडा सजाय दिनु आवश्यक छ।”

घटनापछि आफ्ना सन्तानकै सामु आमामाथि गरिएको हिंसाको दृश्यले ती बालबालिकामा गहिरो मानसिक आघात परेको भन्दै डाँगीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले संवेदनशील अवस्थामा रहेका ती अबोध बालबालिकाको भावनामा थप चोट पुर्‍याउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो कार्य तुरुन्त रोक्नुपर्ने माग राखेका छन्।

“घटनापछि आफूलाई पत्रकार भन्दै केही व्यक्तिहरूले क्यामरामा भिडियो खिच्दै अत्यन्तै आपत्तिजनक र असंवेदनशील प्रश्नहरू सोध्दै सामाजिक सञ्जालमा अपलोड गरिरहेका दृश्यहरू देखिएको छ,” अध्यक्ष डाँगीले बताए।
“‘आमा मर्दा कस्तो महसुस भयो?’ भन्ने जस्ता अमानवीय प्रश्न सोध्ने कार्यले ती बालबालिकाको मानसिक अवस्थालाई अझै जटिल बनाउँछ,” उनले भने।

डाँगीले बाल अधिकारमाथिको यस्ता उल्लङ्घन तत्काल रोक्न स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाल लगायत सरोकारवाला निकायहरूसँग कडा कदम चाल्न माग गरेका छन्।

उनको भनाइ छ, “पत्रकारिताको नाममा गरिने यस्तो हर्कत पत्रकार आचारसंहिताभित्र पर्दैन। बालबालिकाको पीडालाई कमाइ खाने भाँडो बनाउने सोच नै निन्दनीय हो।”

बालमैत्री समाज निर्माणमा संलग्न बाल सञ्जालका अध्यक्ष डाँगीले घटनासँग सम्बन्धित सबै पक्षहरूलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै फेसबुकमा स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

प्रकाशित : २० असार २०८२, शुक्रबार, ,