रुकुम पूर्व, असार १९ — सिस्ने गाउँपालिका–५, उपल्लो ह्यापलामा आज दिउँसो गएको पहिरोका कारण पाँच घर उच्च जोखिममा परेका छन्।
वडा सदस्य अनिल बोहोराका अनुसार पहिरो खसेको स्थानभन्दा तल्लो भागमा रहेका तीन घर र माथिल्लो भागमा रहेका दुई घर गरी पाँच घर जोखिममा परेका हुन्। उहाँका अनुसार माथिल्लो दुई घर पहिरोले तान्नका लागि अब करिब एक मिटर मात्र बाँकी रहेको छ। पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेको पनि उहाँले जानकारी दिनुभयो।
वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र बस्नेतले घटनामा हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो। यद्यपि, कुनै पनि बेला मानवीय क्षति हुन सक्ने सम्भावना रहेको भन्दै उहाँले स्थानवासीलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।
उहाँका अनुसार घटनाको जानकारी भूमि समस्या समाधान आयोग, जिल्ला प्रशासन कार्यालय, सिस्ने गाउँपालिका तथा सशस्त्र प्रहरी बल गुल्म, रुकुम पूर्वलाई दिइएको छ।





































प्रतिक्रिया