रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, तकसेरामा जिल्लाकै सबैभन्दा ठूलो धनराशिको खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ। “राँके सेराबाला जाऔँ !! भाषा, संस्कृति र इतिहास बचाऔँ, ३०औं वार्षिकोत्सव मनाऔँ, राष्ट्रको प्रतिष्ठा उठाऔँ” भन्ने मूल नारासहित हिमालय श्रृङ्खला चौंरी युवा क्लबले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
विक्रम संवत २०५२ सालमा स्थापना भएर दर्ता भएको हिमालय श्रृङ्खला चौंरी युवा क्लब रुकुम पूर्वकै पुरानो र सक्रिय क्लब मानिन्छ। क्लबले खामभाषी मगर समुदायमा फरक पहिचान बनाएको छ। क्लबका अध्यक्ष मिलन कुमार बुदा मगर (दिपक) का अनुसार ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीहरूमा नेपाल प्रहरी क्लब, नेपाल सशस्त्र प्रहरी बल क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मणिमुकुन्द भलिबल क्लब रहेका छन्।
प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुनेछ। हरेक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ।
कार्यक्रममा पुरुष भलिबलसँगै महिला भलिबल, महिला तथा पुरुष फुटसल, दोहोरी गीत र छेलो जस्ता खेलहरूको पनि प्रतिस्पर्धा हुनेछ।
क्लबका सचिव जीवन बुदा मगरका अनुसार, प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा खेलकुदको विकास गर्नु, युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्नु र राष्ट्रिय स्तरका खेलाडीहरूलाई ग्रामीण परिवेशसँग जोड्नु रहेको छ। साथै, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्ने लक्ष्य पनि कार्यक्रमले राखेको छ।
प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ। पुरुष भलिबलतर्फ प्रथम हुने टोलीलाई रु ५ लाख, दोस्रोलाई रु ३ लाख, तेस्रोलाई रु २ लाख र सान्त्वना स्थान प्राप्त टोलीलाई रु १ लाख पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी, महिला भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन्।
पुरुष फुटसलमा पनि प्रथम, द्वितीय र तृतीय टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
महिला फुटसलतर्फ प्रथम हुने टोलीलाई रु ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार दिइनेछ।
दोहोरी गीत प्रतियोगितामा क्रमशः रु १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३ हजार, २ हजार र १ हजार प्राप्त गर्नेछन्।
सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय लोकनृत्य, गायन तथा विविध प्रस्तुतिहरू रहनेछन्। यस अवसरमा क्लबका संस्थापक सदस्य, पूर्व खेलाडी तथा समाजसेवीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
वार्षिकोत्सवमा स्थानीय बासिन्दा, राजनीतिक दल, बुद्धिजीवी, युवा तथा राष्ट्रिय स्तरका अतिथि, खेल विज्ञ र खेलप्रेमीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
प्रतियोगिता आगामी साउन ४ गतेदेखि ८ गतेसम्म तकसेरास्थित सेराबाला मैदानमा हुनेछ। ३० वर्षे यात्रामा क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा उल्लेखनीय योगदान दिएको छ। यस कार्यक्रमले खेलकुदमार्फत तकसेराको पहिचान र सामाजिक समृद्धिमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।








प्रतिक्रिया