काठमाडौं — एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दोस्रो खेलमा श्रीलङ्कालाई ८–० को भारी अन्तरले हराएको छ।
उज्बेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु भएको खेलमा नेपाली टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै जित दर्ता गर्यो।
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ नायिका बनिन्। उनले पहिलो हाफमै २०, ४२ र ४४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। गीता रानाले दुई गोल गरिन् भने निशा थोकर, रेखा पौडेल र पूजा रानाले एक–एक गोल थपे।
खेलको सातौँ मिनेटमै गीता रानाले गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। त्यसपछि सावित्राको ह्याट्रिकले पहिलो हाफमा नेपाल ४–० को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि नेपालको दबदबा कायमै रह्यो।
५४ औँ मिनेटमा गीता रानाले पेनाल्टीमार्फत दोस्रो गोल गरिन्। ६२ औँ मिनेटमा निशा थोकर, ७८ औँ मिनेटमा रेखा पौडेल र ८९ औँ मिनेटमा पूजा रानाले गोल गर्दै नेपालको स्कोरलाई ८–० पुर्याए।
यसअघि नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। श्रीलङ्काले भने पहिलो खेलमा उज्बेकिस्तानसँग १०–० को लज्जास्पद हार व्यहोरेको थियो।
श्रीलङ्काविरुद्ध नेपाल हालसम्म खेलेका सबै ८ खेलमा अपराजित छ। फिफा वरियतामा पनि नेपाल (१००औँ स्थान) श्रीलङ्काभन्दा धेरै अगाडि (१५९औँ स्थान) छ।
समूह ‘एफ’ अन्तर्गत राउन्ड रोविन फर्म्याटमा भइरहेको प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपको टिकट पाउनेछ।
नेपालले अब शनिबार समूहको अन्तिम तथा निर्णायक खेलमा आयोजक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।








प्रतिक्रिया