समाज

मोटरसाइकल दुर्घटनामा घाइते ओलीलाई हेलिकप्टर मार्फत उद्धार



रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय हेमराज ओलीलाई हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा रिफर गरिएको हो।

बुधबार बिहान ११:०० बजेतिर रुकुमकोटबाट धौलापहिरातर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बा २९ प ४४२७ नम्बरको मोटरसाइकल चालक भूमे गाउँपालिका–५, धौलापहिराका २५ वर्षीय कृष्ण खत्री सामान्य घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल रुकुमपूर्वले डिस्चार्ज गरेको छ।

गम्भीर घाइते हेमराज ओलीलाई रुकुमपूर्व अस्पतालमा उपचार सम्भव नभएपछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेको समन्वयमा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा रिफर गरिएको हो।

उनीसँगै डा. पूर्णबहादुर पुनसहितको स्वास्थ्य टोली र आवश्यक सामग्री समेत हेलिकप्टरमार्फत पोखरा पठाइएको छ। साथै, मनिपाल अस्पतालको आकस्मिक कक्षलाई विशेष तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक कृष्ण खत्रीलाई जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको निगरानीमा राखिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवका अनुसार खत्रीको शरीरमा सामान्य चोटपटक मात्र लागेको र आवश्यक अनुसन्धानसहित थप उपचार प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ।

प्रकाशित : १८ असार २०८२, बुधबार, ,